नयाँ संक्रमित गौरीफन्टा नाकाबाट फर्किएका थिए

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा आइतबार एक जना कोरोना संक्रमित थपिएका छन्। धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी–पिसीआर मेसिनबाट परीक्षण गर्दा थप एकजनामा कोरोनाको संक्रमण देखिएको हो।

पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। योसँगै प्रदेशभर संक्रमितको संख्या १५ पुगेको छ। 

नयाँ संक्रमित पुरुष जेठ ८ गते गौरीफन्टा नाकाबाट फर्किएका थिए। सीमामा आरडिटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनको पिसिआर जाँच्दा पनि पोजेटिभ रिपोर्ट आएको हो।

उनको स्वास्थ्य अवस्था समान्य रहेको छ। यसअघि शुक्रबार र शनिबार सुदूरपश्चिमका ९ जनामा कोरोना पुष्टि भएको थियो। धनगढी प्रयोगशालामा गरिएको परीक्षाणमा उनीहरूमा कोरोना पोजेटिभ देखाएका हो। 

शनिबार मात्रै बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको हो। 

शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ। शुक्रबार कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिमका पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.