|

धनकुटा : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द भएको धनकुटा अस्पताल पुनः सञ्चालनमा आएको छ। गत आइतबार स्टाफ नर्समा कोरोना भेटिएपछि आइतबार रातिदेखि नै धनकुटा अस्पताललाई चारकिल्ला तोकर सिल गरिएको थियो।

 प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि जिल्ला अस्पताल संचालनमा ल्याउने निर्णय गरेको थियो । सोहीअनुरूप अस्पताल बाहिर टेन्ट टाँगेर ओपिडी सेवा सुचारु गरिएको हो।

ओपिडी सञ्चालन गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि चिकित्सक सहित सात सदस्यीय स्वास्थ्यकर्मीको टोली आएको छ। जसमा ३ जना डाक्टर र ४ जना नर्स छन्।

विशेष ओपिडी क्लिनिकमा निःशुल्क रुपमा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको अस्पतालका सुचना अधिकारी राजन पोख्रेलले बताए। उनले अस्पतालभित्र भने प्रवेश निशेध गरिएको बताए। गत आइतबारसम्म भने धनकुटा अस्पतालका सबै सेवा सञ्चालनमा थिए। ओपिडी सेवा बन्द हुँदा सयौं विरामीले थप समस्या भोग्न बाध्य भएका थिए।

धनकुटा अस्पतालमा लकडाउनकै समयमा पनि धनकुटा अस्पतालमा दैनिक ८० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले जनाकारी दिए। धनकुटामा ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ स्वास्थ्यकर्मीका परिवारसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८४ जनाको रिपोर्ट नेगेटिभ

धनकुटामा ८४ जनाको पिसिआर टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।  धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, विरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरि ८४ जनाको पिसिआर टेस्ट गरिएको हो ।

आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल धनकुटाका सूचना अधिकारी पोख्रेलले जानकारी दिए ।

यसअघि धनकुटामा जेठ ४ एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ गते अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरि ८३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी, २ जना सुरक्षाकर्मी र १ जना स्वास्थ्यकर्मीका परिवार गरि ७ जनामा कोरोना संक्रमण देखिएको थियो।

१७ जनाको स्वाव संकलन 
स्वास्थ्य कार्यालय धनकुटाले शनिवार १७ जनाको स्वाव संकलन गरि आइतबार धरानस्थित विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। संक्रमित व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरु पहिचान गरि पिसिआर टेस्ट गर्न धरान पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.