कोरोना संक्रमणका कारण वृद्धको निधन भएको आशंका

|

पर्सा  : वीरगन्जको नेसनल मेडिकल कलेजले स्वाब परीक्षणको रिपोर्ट नआई आफन्तलाई शव बुझाएको खुलेको छ। उक्त अस्पतालमा उपचारार्थ चौधरी थरका ७० वर्षीय एक वृद्धको मृत्यु भएको थियो। 

आइसियूमा उपचारार्थ वृद्धको स्वाब परीक्षणका लागि पठाएपछि उनको मृत्यु भएको थियो। उनको शव आफन्तले दाहसंस्कार पनि गरिसकेका छन् । स्वाब परीक्षणको रिपोर्ट भने शंकास्पद आउनुले यसमा अस्पतालको लापरवाही हुन सक्ने आकलन गरिएको छ। 

ती वृद्धलाई जेठ २ गते अस्पताल भर्ना गरिएको थियो। बारा कलैया ७ का हुनको जेठ ४ गते राति मृत्यु भएको थियो। कलेजले आफन्तलाई सोही समयमा शव जिम्मा लगाएको थियो। 

परीक्षण रिपोर्ट नआउँदै शव बुझाउनु गम्भीर गल्ती 

स्वावको रिपोर्ट नआई मृतकलाई आफन्तको जिम्मा लगाउनु नेसनल मेडिकल कलेजको त्रुटि भएको बताइन्छ। वीरगन्जको नारायणी अस्पतालमा ती वृद्धको रिपोर्ट शंकाजनक आएपछि काठमाडौं टेकु प्रयोगशालामा पठाइएको थियो। त्यसको रिपोर्ट अझै आइसकेको छैन। 

शंकास्पद रिपोर्टले अन्योल 

ती वृद्धको स्वाब संकलन गरी नारायणीमा पठाएपछि जेठ २ गतेदेखि नै आइसियू कक्षमा राखी उनको उपचार भइरहेको नेसनल मेडिकल कलेजका संचालक (एमडी) बसुरुद्दिन अन्सारीले बताए । ‘२ गते पठाएको स्वाबको रिपोर्ट अझै आएको छैन। कति दिन कुरेर बस्ने ? दाहसंस्कार पनि सकिइसक्यो अब त,’ उनले भने । 

६ गते मात्र रिपोर्ट शंकाजनक आएको भनी मौखिक जानकारी आएको उनले बताए। उनले भने, ‘अब पोजेटिभ नै आए पनि के गर्ने ? अन्यौल भएको छ’,

उपचारमा पनि अस्पतालकै एमडी अन्सारीको छोरीको टोली खटेको र ती वृद्धलाई पहिले क्षयरोग र दमसमेत रहेको तथा पछिल्लो समयमा निमोनिया पनि भएको बुझिएको छ । 

मृतक संक्रमित भएको आशंकामा आइसियू बन्द ! 

जेठ ९ गते एक्कासि नेसनल मेडिकल केलेजले सोही दिनदेखि आफ्नो आइसियू विभाग ३ दिनका लागि बन्द गर्ने सूचना जारी गरेको थियो। पूर्वसूचनाबिनै सोही दिन आइसियू बन्द गर्ने सूचना जारी गर्नुलाई स्थानीयले शंकाको दृष्टिले हेरेका थिए। 

यहि कुरा खोजी गर्दै जाँदा शंकास्पद बिरामी राखेको खुलेपछि अस्पतालले फ्युमिगेसनको नाममा ३ दिन आइसियू बन्द गरेको खुल्न आएको छ।

रिपोर्ट पोजेटिभ आए दोषीमाथि कारबाही 

यस घटनालाई जिल्ला प्रशासन कार्यालय पर्साले गम्भीर रुपमा हेरिरहेको जनाएको छ। मृतकको रिपोर्ट पोजेटिभ आए कानुनअनुसार दोषीलाई कारबाही गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.