|

नवलपरासी : पश्चिम नवलपरासीमा स्वाब संकलनका लागि आवश्यक भिटिएम किट अभाव भएको छ।

किट अभाव भएपछि क्वारेन्टाइनमा रहेकाहरुको कोरोना परीक्षण समेत प्रभावित भएको छ। पछिल्ला दिनहरुमा भारतबाट घर फर्किनेहरुको संख्या दिनानुदिन बढ्दै गएपछि यहाँका सातवटै स्थानीय तहका क्वारेन्टाइनमा चाप बढेको छ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दघाट सुस्ता पश्चिमको तथ्यांकअनुसार आइतबारसम्म जिल्लाभरका क्वारेन्टाइनमा ९४३ जना रहेका छन्। सबैभन्दा बढी सुस्ता गाउँपालिकामा  २०३ जना र सबैभन्दा कम सुनवल नगरपालिकामा ५१ जना क्वारेन्टाइनमा रहेका छन्। 

बर्दघाट नगरपालिकामा ८७, रामग्राम नगरपालिकामा ८०, प्रतापपुर गाउँपालिकामा १३८, सरावल गाउँपालिकामा २०० र पाल्हिनन्दन गाउापालिकामा १८४ जना क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

क्वारेन्टाईनमा बस्नेको दिन प्रतिदिन बढ्दै गए पनि क्वारेन्टाइन अवधि पूरा भएकाहरुको पिसिआर टेष्ट गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरभ ढकालले बताए। क्वारेन्टाइन अवधि पूरा गरे पनि कोराना परीक्षण नतिजा नेगेटिभ आएपछि मात्र घर पठाउनुपर्ने हुन्छ। 

प्रमुख ढकालका अनुसार अहिले पश्चिम नवलपरासीमा ५७ वटा मात्र भिटिएम भएको र क्वारेन्टाइनमा बस्ने भने झण्डै एक हजारको हाराहारीमा रहेकाहरुको परीक्षण गर्न सम्भव नभएको हो। 

आरडिटी र पिसिआर गरी ९५० जनाको परीक्षण

पश्चिम नवलपरासीमा हालसम्म आरडिटी र पिसिआर दुवै विधिबाट ९५० जनाको परीक्षण गरिएको छ। आइतबारसम्म आरडिटी विधिबाट ३५८ र पिसिआर विधिबाट ५९२ जनाको परीक्षण भएको छ। 

तीमध्ये ५७२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। पाँच जनालाई कोरोना पुष्टि भैसकेको छ। १५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए।

पश्चिम नवलपरासी भारतसँग सिमा जोडिएको जिल्ला भएकाले पनि भारतबाट भित्रनेहरुको अत्याधिक चाप रहेको छ। यहाँका स्थानीय तहरुले भारतीय सीमावर्ती क्षेत्रमा आएका  नागरिकहरुलाई सीमा क्षेत्रबाट सिधै क्वारेन्टाइनमा लगेर राख्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.