|

इलाम : नेपालको पूर्वी सीमा नाका  पशुपतिनगरबाट ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका सात तथा चितवन र काठमाडौंका १/१ जना पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन्।

उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै आरडिटी गर्दा आठजनाको रिपोर्ट पोजिटिभ देखिएको छ। रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सूर्योदय नगरपालिका वडा नम्बर १० का आध्यक्ष तथा कोरोना फोकल पर्सन पेमा उगेन लामाले जानकारी दिए।

‘पोजिटिभ रिपोर्ट आएकाहरूको सोमबार स्वाब नमुना लिएर पिसिआर परीक्षणका लागि पठाइने छ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट नै रहेका तेह्रथुमका युवकको समेत पिसिआर परीक्षण गरिनेछ।’ 

रिपोर्ट नेगेटिभ आएका दोलखाकै ५८ जनालाई गृह जिल्ला पठाइएको छ। अन्य जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको लामाले बताए। सोमबार पनि यो नाका भएर युवाहरू आउने तयारीमा रहेको उनले जनाए। 

नगरसँग आरडिटी किट ३५ थान मात्रै रहेकाले थप किट ल्याउन पहल भइरहेको लामाले बताए। पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४०० जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ।

अन्य प्रदेशका लागि आरडिटी मात्र

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्याेदय नगरपालिकाको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ। तर, नाका भित्रिनेबित्तिकै आरडिटी गरेर उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने सूर्याेदय नगरपालिकाले जनाएको छ। 

नगरले १ नम्बर प्रदेशका नागरिकको चाहिँ पिसिआरसमेत जाँच गर्ने तयारी गर्दै । नाका भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ। सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाइएको नगर प्रमुख रणबहादुर राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.