संकटमा शुल्‍क असुलेर अभिभावकलाई दुःख दिन मिल्दैन

|

काठमाडौं : देश लकडाउन भएको पनि दुई महिना बढी भइसकेको छ। यतिबेला सबै विद्यालयहरू पनि  बन्द नै छन्। एसइई परीक्षा रोकिँदा विद्यार्थी अन्योलमा छन। तर, सरकारले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन।

यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले लकडाउनलाई सदुपयोग गर्न भन्दै अनलाइन कक्षा सञ्चालन थालेको छ। अबको शैक्षिक सत्र कसरी अघि बढ्ला?  अनलाइन कक्षा कत्तिको प्रभावकारी बन्ला? यही विषयमा थाहाकर्मी श्याम राईले प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीसँग गरिएको कुराकानीको सम्पादित अंश : 

लकडाउन बढ्दै गएको छ। अबको शैक्षिक सत्रलाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ?

लकडाउन बढिरहेको छ। हामीले लकडाउनकै अवधिमा पनि भर्चुअल कक्षालाई एउटा अभियानका रूपमा सञ्चालन गर्न प्याब्सनले आह्‍वान गरेका छौँ। अधिकांश विद्यालयले पहिलो प्राथमिकतामा अनलाइनलाई दिएको छ।  दोस्रोमा टेलिभिजन र तेस्रोमा रेडियोलाई लिएको छ।  युटुब र म्यासेन्जरहरुलाई पनि प्रयोग गरेर शिक्षालाई अगाडि बढाउँदै आएका छौँ। 

सबै ठाउँमा अनलाइन कक्षाको लागि इन्टरनेटको पहुँच छैन। त्यस्ता ठाउँमा कसरी व्यवस्थापन गर्नुहुन्छ?

सबै ठाउँ र अभिभावकमा इन्टरेन्टको पहुँच पुगेको छैन। इन्टरनेट भए पनि उपकरण नहुन सक्छ। त्यसैले समस्या छ। जहाँ इन्टरनेट छ त्यहाँ अनलाइन कक्षाबाट शिक्षा दिँदै आएका छौँ। इन्टरनेट नपुगेका ठाउँमा रेडियो र टिभीबाट भर्चुअल कक्षा सञ्चालन गर्दै आएका छोँ। 

अनलाइन पढाइ प्रभावकारी बनेको छ त?

यो समयसापेक्षीमा सूचना, प्रविधिलाई प्रयोग गरेर शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो अभियान हो। यो समयमा हामीसँग जे प्रविधि छ त्यही प्रयोग गर्ने अवसर मिलेको छ। यसले घरका अभिभावकलाई प्रविधिसँग नजिक बन्ने अवसर दिएको छ।

अनलाइन कक्षा प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो अपेक्षा छ।  यो सकारात्मक पक्ष हो। भोलिका दिनमा अनलाइन कक्षा प्रभावकारी नभए लकडाउन सकेपछि शैक्षिक क्यालेन्डर नयाँ ढंगले बनाउनुपर्छ। त्यही ढंगले जानुपर्छ।

अनलाइन कक्षामा अभिभावकहरूको विभेदको गुनासो छ नि?

यो अनलाइन कक्षा एउटा ट्रायलको रुपमा प्रयोग गरिएको हो। हामीसँग अहिले अरू विकल्प भएन। हामीबाट अभिभावकलाई विवेद गराउने र हतोत्साही गर्ने कदापि गर्न खोजेका होइनौँ। विभेद गर्ने मनशाय पनि छैन। हामीले जोसँग जे प्रविधि छ, त्यही प्रयोग गरेर यो लकडाउनलाई सदुपयोग गर्दै शिक्षालाई अगाडि बढाउने प्रयास गरेका हौँ। यसले चन्चले स्वाभावका बालबालिकालाई घरमै रहेर ज्ञान आर्जन गर्ने अवसर मिल्छ। 

कोरोना त्रासले धेरै विद्यार्थी गाउँ गइसकेका छन्। अब उनीहरूलाई कसरी व्यवस्थापन गरी अनलाइन कक्षा सञ्चालन गर्नुहुन्छ?

लकडाउनको समयमा सबै कुरा प्रभावकारी बन्न सक्दैन। लकडाउनपछि पनि धेरै बालबालिका विद्यालयमा आउँदैनन्। वातावरण पनि बन्दैन। अरू देशमा पनि लकडाउनपछि पढाइ प्रभावकारी भएको भेटिएको छैन। नेपालमा सामाजिक दूरी कायम गरेर शिक्षा दिने व्यवस्था पनि छैन।

त्यो बेला अनलाइन कक्षा लिने निर्णय गरिएको हो। भोलिका दिनमा आवश्यक परे घरमै अनलाइन कक्षा सिकाउन सकिन्छ। सरकारले पनि यसलाई अनौपचारिक शिक्षामा परिभाषित गरेको छ। पछि आवश्यक परे औपचारिक कक्षाका रूपमा प्रयोग गर्ने स्थिति आउन सक्छ।

लकडाउनले अझै शैक्षिक सत्र बिथोलिने देखिन्छ। अहिलेसम्म पनि एसइई परिक्षा हुन सकेको छैन। यसका लागि प्याब्सनले के सोच्दै आएको छ?

यो संकटमा हामीले कुन ढंगबाट जाँदा विद्यार्थीलाई न्याय मिल्छ भनेर विद्यार्थीको मूल्यांकनका आधारमा प्रमाणपत्र दिनुपर्छ भनेर सरकारलाई माग र सुझाव दिएका हौँ। तर, सरकारले एसइई परीक्षा लिने पक्षमा देखिएको छ। त्यसो हो भने सरकारले तत्कालै रुटिन दिनुपर्‍यो।

शिक्षकले विद्यार्थीको राम्रो मूल्यांकन गर्न सक्छ त्यसैले अहिले पनि प्रमाणपत्र दिनुपर्छ भन्ने अडानमा हामी छौँ।  परीक्षा गराउँदा रिजल्ट टेबुलेसन गर्दा ढिलाइ हुन्छ। साउनबाट सामाजिक दूरी कायम गरेर कक्षा ११ को कक्षा सञ्चालन गर्नुपर्छ। विद्यार्थीलाई दुविधामा पार्नु हुँदैन।

कक्षा ११ को परीक्षा पनि विद्यालयलाई छोडेर मूल्यांकन गरी १२ कक्षामा चढाउँदा हुन्छ। १२ कक्षाको परीक्षा साउनमा गर्दा पनि हुन्छ। त्यही ढंगले सरकारले परीक्षाको कार्यक्रम तय गर्नुपर्छ। 

कतिपय विद्यालयले भर्ना लिएका छन्,अन्यले लिएका छैनन्। अब कसरी भर्ना प्रक्रिया थाल्नुहुन्छ?

अहिले निजीभन्दा पनि सामुदायिक विद्यालयले भर्ना लिएका तथ्यांक आएको छ। हामीले लकडाउन समयमा भर्ना गराउनु हुँदैन भनेर सबै विद्यालयलाई जानकारी गराएका छौँ। यो २० गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्छ। त्यसपछि सामाजिक दूरी कायम गरेर पाठ्यपुस्तक खरिद गर्ने र भर्ना प्रक्रिया थाल्नुपर्छ भन्ने हाम्रो मान्यता छ। 

लकडाउनमा कुनै विद्यालयले शुल्क असुलेका छन्। तपाईंहरूको संगठनले किन नियमन गर्न सकेन?

हामीले सबै विद्यालय सदस्यहरुलाई यो संकटमा शुल्क नलिन आह्‍वान गरेका छौँ। धेरै विद्यालयले मानेका छन्। केही विद्यालयले अटेरी गरेका छन्। त्यस्ता विद्यालयलाई केन्द्र सरकार अथवा स्थानीय सरकारले नियन्त्रण र अनुगमन गर्नुपर्छ। हामीले पनि रोक्न पहल गरिरहेका छौँ। यो संकटमा अभिभावकलाई दुःख दिन कदापि मिल्दैन। 

कतिपय विद्यालयले नतिजा प्रकाशित गरेका छन् भने, कतिपयले लिएका छैनन्। अब कहिलेसम्‍म नतिजा प्रकाशित होला?

हामीले वैशाख १९ गते सम्ममा नतिजा प्रकाशन गर्नका लागि सबै विद्यालयलाई निर्देशन दिइसकेका थियौँ। तर, सरकारले वैशाख २५ गतेसम्म प्रकाशित गर्ने निर्देशन दियो। धेरैले नतिजा प्रकाशित गरिसकेका छन्। ग्रामीण भेगमा स्रोत साधनको अभावले प्रकाशित हुन सकेको छैन। अब हामीसँग समय नभएकाले बाँकी भएका विद्यालयले तुरुन्त नतिजा प्रकाशन गर्नुहुन सबै विद्यालयलाई अनुरोध गर्दछु। 

यतिबेला विद्यार्थी र अभिभावकलाई केही भन्‍नु छ?

अहिले कोरोना महामारी छ। यसबेला सबै घरभित्रै बसौँ। लकडाउनको बेला आफ्ना छोराछोरीलाई केही न केही पढाइमा जोडौँ भनी अभिभावकलाई अनुरोध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.