नेता गुहार्छन्, उपाय नलागे सीमामै नाराबाजी गर्छन्

|

बाँके : संघीय सरकारले नेपाल–भारत सीमा नाका सील गरेको छ। सरकारले अत्यावश्यक कामबाहेक एउटा जिल्लाबाट अर्को जिल्लामा जान नपाइने निर्णय कार्यान्वयन गर्न सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

लकडाउन गरी यातायातका साधन संचालनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको अवस्था छ। तर, नेपालगन्ज नाकाबाट सोमबार चार हजार नेपाली भित्रिएका छन्।बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म तीन हजार ८ सय नेपाली नेपालगन्ज नाकाबाट भित्रिएका इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ। 

आइतबार पनि ३ हजार ५ सय नेपाली भित्रिएका इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख माधवप्रसाद रिजालले बताए। भारतले रेल, बस र अन्य सवारीसाधन संचालनमा ल्याएपछि कामका लागि गएकाहरु धमाधम फर्किंदै छन्।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भारतबाट आउने नेपालीलाई रोक्न सक्ने सम्भव नभएको बताए। नेपालगन्ज नाकाबाट दैनिक सरदर दुई हजार पाँच सय नेपाली भित्रिने गरेका उनले जानकारी दिए। 

दोहोरो दबाबमा बाँके प्रशासन

बाँके प्रशासन दोहोरो दबाबमा परेको उपाध्यायले बताए। रुपैडियाबाट आएका नेपालीलाई ल्याउन जिल्ला र स्थानीय तहका प्रतिनिधिले दबाब दिने गरेको भनाइ छ।भारतले रेल र बस सेवा संचालन गरेकोले नेपालीलाई आउन रोक्न नसकिने उनले बताए।

‘जिल्लाका नेता र जनप्रतिनिधिलाई फोन गरेर नेपाल ल्याउन दबाब दिने गरेको बताए। 'कुनै उपाय नलागे रुपैडियामा नाराबाजी गर्न थाल्छन्,’ सहायक प्रजिअ उपाध्यायले भने।
 
नाका सिल फुकुवा नभएकोले केन्द्र सरकारले किन भित्र्याएको भनेर सोधपुछ गरेको उनले सुनाए। ‘स्थानीय तहका जनप्रतिनिधिले जसरी भए पनि आउन दिनुस् उनीहरुको व्यवस्थापन हामी गर्छौँं भनी ल्याउन दबाब दिन्छन्,’ सहायक प्रजिअ उपाध्यायले भने, ‘हामीलाई दुवैतर्फको दबाब थेग्न मुस्किल परेको छ।’

अधिकांश महाराष्ट्र र दिल्लीबाट आउँदै 

नेपालगन्ज नाकाबाट कोरोना संक्रमण बढी भएका ठाउँबाट नेपाली आउने गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार, नेपाल आउनेमा अधिकांश भारतको महाराष्ट्र र दिलीमा रहेका नेपाली छन्। 

बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन्। नरैनापुरमा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएका गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिएकाले समुदायमा कोरोना फैलिन नपाएको उनले बताए। 

खजुरा गाउँपालिकामा पहिलो पटक पुष्टि भएका कोरोना संक्रमित पनि महाराष्ट्रबाट आएका हुन्। भारतले आफ्नो देशमा भएका नेपालीलाई स्वदेश फर्किन वातावरण मिलाउँदै आएको छ। रेल र बस सेवा नभएका ठाउँमा बसेका नेपालीलाई ट्रकको व्यवस्था गरेर नेपाल फर्काउने गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.