|

बारा :  कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका करैयामाईका ७० वर्षीय वृद्धका परिवारसहित ३२ जनालाई क्‍वारेन्टाइनमा राखिने भएको छ। ९ दिनअघि वीरगन्जको नेसनल मेडिकल कलेजमा ती वृद्धको मृत्यु भएको थियो। उनको अन्त्येष्टि भइसकेको छ। 

उपचार क्रममा जेठ ४ राति उनको मृत्यु भएको थियो भने आज(सोमबार) मात्र उनमा कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो। आज साँझबाट उनको परिवारलाई क्‍वारेन्टाइनमा राख्ने भनिए पनि बेड तयारी नभएको बताइएको छ। 

वृद्धका छोरी, बहिनी, ज्वाईं, नातिनातिनालाई समेत क्‍वारेन्टाइनमा राख्ने तयारी भएको करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले जानकारी दिए।

‘मलामीमा सहभागी भएकालाई क्‍वारेन्टाइनमा राखिने छ,’ अध्यक्ष धामीले भने, ‘अन्त्येष्टिमा परिवारका सदस्यको बढी भूमिका हुन्छ। उनीहरुलाई संक्रमणको जोखिम हुने भएकाले क्‍वारेन्टाइनमा राखेर परीक्षण गर्ने योजना छ।’

प्रशासनले उम्जन गाउँलाई दिउँसोबाट सिल गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले जानकारी दिए। कोरोना संक्रमित वृद्धको धार्मिक परम्पराअनुसार स्थानीय गाउँ नजिकैको खोलामा अन्त्येष्टि गरिएको थियो। दाहसंस्कारमा सहभागी मलामी, मृतकका परिवार लगायतका गाउँलेलाई घरमै बस्न निर्देशन दिइएको प्रवक्ता मिश्रले जानकारी दिए। 

प्रहरीले कसैलाई बाहिर आउजाऊ गर्न दिएको छैन। उनका अनुसार मृतकको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते वीरगन्जको नेसनल मेडिकल कलेजको भेन्टिलेटरमा भर्ना गराएका थिए।

वीरगन्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.