|

बैतडी : बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ४६ जनाको पिसिआर रिपोर्ट  नेगेटिभ आएको छ।  शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमुना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गरिएको हो।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब उपरीक्षक, जिल्ला अस्पताल बैतडीका चिकित्सक तथा अन्य कर्मचारीहरुको परीक्षण गरिएको थियो। 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा शुक्रबार संक्रमण पुष्टि भएको थियो। ती युवकमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको  स्वाब संकलन गरिएको हो।

ती युवक बैशाख १५ देखि हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो। वयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको थियो। संक्रमित युवक चैत ६ गते भारतबाट आएका हुन्।

आरडिटी पोजेटिभको स्वाब संकलन हुन सकेन

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको आइतबार आरडिटी पोजेटिभ आए पनि अहिलेसम्म थ्रोट स्वाबको नमुना संकलन हुन सकेको छैन। आरडिटी पोजेटिभ आएका आठ प्रहरी र एकजना प्रहरीको श्रीमती रहेका छन्।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पिसिआर किट अभाव भएकाले स्वाब संकलन हुन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वशन्तराज जोशीले बताए। प्रयोगशालामा पठाए पनि परीक्षणमा ढिलाइ हुँदा स्वाबको नमूना बिग्रिने हुनाले स्बाब संकलन नगरिएको जोशीको भनाइ छ। 

आरडिटी पोजेटिभ देखिएका प्रहरीलाई सदरमुकामस्थित बसपार्कमा क्वारेन्टाइन निर्माण गरी राखिएको छ।  शान्ति सुरक्षाका लागि २४सैं घण्टा खटिने प्रहरीको पिसिआर परीक्षण गर्न ढिलाई हुँदा समस्या भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.