जटिल समस्या भएका संक्रमितलाई लेभल-३ अस्पताल

|

काठमाडौं : गत माघको पहिलो कोरोना भाइरसको पहिलो संक्रमण देखिएको नेपालमा चार महिनायता संक्रमण दर बढेर सात सयभन्दामाथि पुगेको छ।

 हालसम्म नेपालमा देखिएका भाइरस संक्रमितहरुमध्ये अधिकांशमा कडा लक्षण देखिएको छैन। ज्यान गुमाएका चारजनामा भने गम्भीर स्वास्थ्य समस्या देखिएको थियो।

सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि भनेर विभिन्‍न सुविधा भएका अस्पताललाई पहिलो चरणमा हब अस्पतालका रुपमा घोषणा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजारसम्म संक्रमितको उपचारका लागि भनेर उपत्यका र उपत्यका बाहिरका विभिन्‍न स्थानका अस्पतालहरुको पूर्वाधारका आधारमा हव अस्पतालका रुपमा तयार पारेको छ।

स्वास्थ्य मन्त्रालयले  कोरोना भाइरसका संक्रमितको उपचारको लागि लेभल-१, लेभल-२ र लेभल-३ गरी देशभर २८ वटा अस्पतालला छुट्याएको हो। विरामीको लक्षण र अवस्था हेरेर  कोरोना भाइरस संक्रमित तोकिएका लेभलको अस्पतालमा उपचार निर्णय गरिएको छ।

स्वास्थ्य मन्त्रालयले बनाएको (कोभिड-१९) महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्यसेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ अनुसार अस्पतालको सेवा सुविधाको आधारमा अस्पतालको स्तरअनुसारको लेभल विभाजन गरिएको हो। 

कस्ता बिरामीलाई लेभल एक अपताल?

लेभल-१ का अस्पताल देशभर १३ वटा छन्। जसमध्ये काठमाडौं उपत्यकामा २ वटा र उपत्यका बाहिरका १२ वटा छन्। लेभल–१ अस्पतालमा सामान्य लक्षण देखिएका बिरामीको उपचार हुन्छ। जसमा औषधिको समेत प्रयोग गर्न नपर्ने तथा आइसोलेसनमा मात्रै भएर बस्दा हुने बिरामीलाई राख्ने व्यवस्था छ।

हालसम्म नेपालमा  देखिएका धेरै संक्रमितहरु लक्षणविहीन छन्। धेरै भाइरस सक्रमितहरु लेभल–१ अस्पतालमै छन्। हाल सरकारले कोभिड-१९ का लागि छुट्याएका लेभल-१ अस्पतालहरुमा आयुर्वेदिक अनुसन्धना तथा तालिम केन्द्र कीर्तिपुर, काठमाडौं मेडिकल कलेज दुवाकोट, अछाम अस्पताल, अस्थायी कोरोना अस्पताल सुर्खेत, भीम अस्पताल भैरहवा र अस्थायी कोरोना अस्पताल बुटवल रहेका छन्।

त्यसैगरी यही लेभलमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ अस्पताल, जानकी अस्पताल जनकपुर, अस्थायी कोरोना अस्पताल विराटनगर र अस्थायी कोरोना अस्पताल भरतपुर रहेका छन्।

भेन्टिलेटरमा राख्‍न लेभल-२ अस्पताल

यस्तै भाइरस संक्रमण भएपछि असरको हिसाबले विरामीलाई भेन्टिलेटरमा राख्नु पर्ने भए लेभल–२ अस्पताल तोकिएको छ। श्वास-प्रश्वासमा गम्भीर समस्या भई भेन्टिलेटरमा नै राख्नुपर्ने बिरामीको उपचार यी अस्पतालमा गरिनेछ।

त्यसैले लेभल-२ अस्पतालमा आईसीयू, भेन्टिलेटरसहितको आइसोलेसन हुनैपर्छ। यस्ता अस्पताललाई सरकारले लेबल-२ अस्पतालका रुपमा छुट्याएको छ। सरकारले हाल देशभरकार १२ वटा अस्पतालालई लेभल-२ अस्पतालका रुपमा तोकेको छ। काठमाडौं उपत्यकामा तीनवटासहित उपत्यका बाहिर गरी १२ वटा अस्पताललाई लेभल -२ अस्पतालको लागि तोकेको छ।

 उपत्यकामा  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्रको प्रहरी अस्पताल उपत्यकामा लेभल-२ अस्पताल हुन्। 

उपत्यकाबाहिर भरतपुर अस्पताल, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगन्ज, जनकपुर अस्पताल जनकपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी अस्पताल बुटवल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत अस्पताल सुर्खेत र सेती प्रादेशिक अस्पताल धनगढी छन्।

जटिल संक्रमितलाई लेभल-३ अस्पताल

यदि कोरोना भाइरस संक्रमित भएर जटिल प्रकारको स्वास्थ्य समस्या आए सरकारले लेभल-३ अस्पतालमा राखेर उपचार गर्ने व्यवस्था गरेको छ। यी अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामी राखिन्छ।

कोरोना संक्रमितका हातखु्टटा भाँच्चिएको, ब्रेनमा समस्या रहेको, मुटुमा समस्या रहेको, गर्भवतीलगायतका विशेषज्ञ सेवा चाहिनेलाई कोरोना भाइरस संक्रमण भएमा लेभल-३ अस्पतालमा राखेर उपचार गरिन्छ।

अहिलेसम्म २ जना कोरोना संक्रमित लेभल–३ अस्पतालमा रहनुपर्ने पर्ने पाइएका छन्। एक जना मुटुमा समस्या भएकी हेटौंडाकी ५४ वर्षीया संक्रमित महिलालाई लेभल-३ शिक्षण अस्पतालमा उपचार भइरहेको छ।  

लेभल-३ अस्पतालमा मुख्यतया विशिष्टकृत स्वास्थ्य सेवा हुने गर्छ। केही दिनअघि मुटुमा समस्या भएर महारागन्जस्थित मनमोहन कार्डियो सेन्टरमा भर्ना भएकी मकवानपुरकी महिलालाई शिक्षण अस्पताल परिसरस्थित गणेशमान सिंह भवनमा बनाइएको विशिष्टकृत आइरोलेसनमा राखिएको छ।

उपत्यकाको हकमा शिक्षण अस्पताललाई लेभल-३ अस्पतालका रुपमा राखिएको छ। अन्य लेभल-३ अस्पतालहरुमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.