|

नवलपरासी : पश्चिम नवलपरासीमा गाडेको ठाउँबाट  प्रहरीले एक किशाेरीको सव निकालेको छ। सुस्ता गाउँपालिका ३ रेता नारायणी किनारमा गाडिएको अवस्थामा १४ वर्षीया धनेश्वरी विनको शव प्रहरीले निकालेकाे हाे। उनकाे हत्या गरिएकाे प्रहरीकाे अनुमान छ। 

किशाेरीको हत्या गरी शव गाडिएको हुन सक्ने आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको भन्दै मृतक किशोरीका बुबा लक्ष्मण विनसँगै, आमा, दाजु र एक छिमेकीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

थापाले यसबारे अनुसन्धान प्रकृया बढाइएको बताए। मृतक किशोरीको शव पोष्ट मार्टमका लागि परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा लगिएको छ। किशोरीको टाउकोमा चोट देखिएको बताइएकाे छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक किशोरी र दाजु जितेन्द्रकाे झगडा भएकाे बुझिएकाे छ। जितेन्द्र भने अहिले फरार छन्। जितेन्द्रलेनै बहिनी धनेश्वरीको टाउकोमा प्रहार गरेको हुन सक्ने प्रहरीको आशंका छ। 

परिवारले भने किशाेरीले विष सेवन गरेका कारण मृत्यु भएको भन्दै घरदेखि नजिकै नारायणी नदी किनारमा लगेर आइतबार राति नै शव गाडिएको बताउँदै आएका थिए। परिवारले घटनालाई लुकाउन खोजे पनि स्थानीयले हत्या गरी गाडिएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.