|

भक्तपुर : कुनै पनि सन्तानलाई सबैभन्दा बढी माया कसले गर्छ ? यसको सहज उत्तर हो आमा। त्यसैले आमा जननी हुन्। तर आफ्नै कोखबाट जन्माएको एक सन्तानलाई भक्तपुरमा एक महिलाले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने एक आमाले आफ्नै चारदिने शिशुको हत्या गरेर फालेकी भेटिएको प्रहरीले जनाएको छ। उदयपुर घर भई हाल घलाते बस्ने ती २२ वर्षीया रमिला राईले सोमबार शिशुको मुखमा कपडा कोचेर हत्या गरेकी खुलेको हो। 

प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनालसमेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा आमाले नै हत्या गरेर फालेको बताइएको छ। 

स्थानीयले फाहोरको थुप्रोमा सालनालसहितको शिशु मृत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी गराएका थिए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत्र ११ गतेदेखी लकडाउन लागु गरेको केही दिनमा रमिलाका श्रीमान बेपत्ता भएका थिए। 

उनी अहिलेसम्म सम्पर्कमा नआएको रमिलाले प्रहरीलाई बताएको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव निरीक्षक चक्रराज जोशीले बताए। रमिला र उनका श्रीमानबीच ज्याला मजदुरी गर्ने क्रममै भेट भएको थियो। उनीहरुबीच माया बस्यो र विवाह बन्धनमा बाँधिए। 

पहिलो सन्तानको रुपमा छोरी जन्मिइन्। अरु बेला पनि कहिलेकाहीँ दुई चार दिन हराउने र पुनः कोठामा आउने रमिलाका श्रीमान् यसपटक भने लकडाउन सुरु भएको केही दिनदेखि सम्पर्कविहीन भए।

एकातिर श्रीमान्को अत्तोपत्तो नहुनु, अर्कोतर्फ काखमा २१ महिनाको छोरी। यस्तो अवस्थामा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी रमिलाले दुई सन्तानको रेखदेख गर्न नसक्ने देखेर चार दिनअघि जन्मिएको शिशुको हत्या गरेर फालेको बयान दिएकी जोशीले जानकारी दिए। 

शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको छ। प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.