काठमाडौं : रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको घटनामा तीन युवाको ज्यान गएको छ। जाजरकोटका तीन दलित युवकको हत्या गरिएपछि गायक प्रकाश सपुतले यो जुनीमा दलित समुदाय मान्छेको सूचीमा पर्नै गाह्रो भएको बताएका छन्।
उनले यो जुनीमा दलितहरु मान्छे मानिन्छन् कि मानिँदैनन् भनेर प्रश्न गरेका छन्। उनले भावुक स्टाटस लेख्दै भनेका छन्,'दलित भएकै कारण, प्रेम गरेकै कारण मर्नुपर्ने नियति देशकै लागि लज्जास्पद छ! सारै दु:खद छ। कुरी-कुरी समाज, कुरी कुरी कानुन!'
उनको कविता यस्तो छ
सरकार !
खुकुरी उदाएर निस्किएकै हो !
जान्छु देशको सिमानामा र थापिन्छु !
कि काट्छु कि काटिन्छु भनेर !
तर रुकुम पुगेर रोकिए !
सरकार !
त्यहाँ त झन् कत्रो ठूलो पर्खाल रैछ नि?
जातीय विभेदको !
वर्गीय विभेदको !
सिमाना भित्रैका यी पर्खालहरु भत्काउँदा भत्काउँदै
देशको सिमानामा पुग्न ढिलो भए भने
म राष्ट्रवादी मानिन्छु कि मानिन्न सरकार?
देशभक्त मानिन्छु कि मानिन्न?
सरकार !
उत्तर दिइहाल्नु भयो भने
यसको उत्तर पनि दिनु होला।
म एक स्वाभिमानी नेपाली
यो जुनीमा “मान्छे” मानिन्छु कि मानिन्न?
तपाईंको ईमेल गोप्य राखिनेछ ।