राष्ट्रिय सहमतिको सन्देश दिन आग्रह

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन प्रस्तावमा अरु विषयमा नघुसाउन दलहरुलाई आग्रह गरेका छन्। संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेश गर्ने पूर्वसन्ध्यामा बसेबो सर्वदलीय बैठकमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्। 

सरकारी निवास बालुवाटारमा बसेको संसदमा सहभागी दलहरुसँगको बैठकमा बोल्दै ओलीले अहिलेलाई भारतले हडपेको भूमि समेटिएको नक्सा जारी गर्ने एक बुँदे संविधान संशोधन प्रस्तावलाई सर्वसम्मतिले पारित गरिदिन आग्रह गरेका हुन्। 

बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार प्रधानमन्त्रीले अहिलेलाई हालै जारी नक्सालाई आधिकारिकता दिन गरिने संविधान संशोधन प्रस्तावमा सबै दललाई सहमत अपिल गरेका थिए।

‘उहाँले बैठकले नक्सालाई आधिकारिकता दिने संविधान संशोधन प्रस्तावमाथि छलफलका लागि डाक्नु भएको रहेछ। बैठकमा यही विषयमा मात्रै कुरा भएको छ’, सिटौलले भने, ‘प्रधानमन्त्रीले अहिलेलाई नक्सालाई आधिकारिकता दिने संशोधन प्रस्ताव मात्रै अघि बढाउने बताउनु भएको छ। दलहरु लगभग त्यसमा सहमत छन्।’

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानमा विभिन्‍न राजनीतिक दलका आफ्ना फरक मत रहेको उल्लेख गर्दै अहिलेलाई ती कुरालाई भुल्न आग्रह गरेका थिए। 

‘विभिन्‍न दलका संशोधन गर्ने प्रस्ताव पनि होलान्। संविधान असंशोधनीय दस्तावेज होइन’, उनले बैठकमा भनेका थिए, ‘आवश्यकता अनुसार भोलिका दिनमा संशोधन गर्न सकिन्छ। तर अहिलेलाई भारतले हडपेको भूमि समेटेर जारी गरिएको नक्सालाई आधिकारिकता दिने कुरामा सबै दल सहमत बनौँ।’

बैठकमा प्रधानमन्त्रीले अहिलेलाई यो मात्रै एउटा एजेण्डा संविधान संशोधनमा राख्नुपर्ने बताएका थिए। ‘अहिलेलाई अन्य विषय समावेश नगरौँ’, ओलीको भनाइ उधृत गर्दै ज्ञवालीले भने, ‘संविधान असंशोधनीय दस्तावेज होइन। विस्तारी दलहरुका आवाज पनि समावेश गर्दै जाउँला।’

बैठकमा मधेसवादी दलका नेताहरुले आफ्ना कुरा पनि संशोधन प्रस्तावमा समावेश गर्न आग्रह गरेका थिए। जनता समाजवादीका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराईसहित संविधान संशोधन गर्दा मधेस र आदिवासी जनजातिका माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए। 

उनीहरुले अहिले मुद्दा राष्ट्रियता र भौगोलिक अखण्डतासँग जोडिएको बताउँदै सर्वसम्मत रुपमा अगाडि बढाउन आग्रह गरेका थिए। मधेसवादी नेताहरुले राष्ट्रियताको विषयमा आफूहरुले बार्गेनिङ नगर्ने बताउँदै तर आफ्ना मागहरु पनि सुनिदिनुपर्ने धारणा राकाे थिए।

बैठकमा प्रधानमन्त्रीले कोरोना रोकथाम तथा बजेटसहितका अन्य एजेण्डामा पछि छलफल गर्ने बताएका थिए। ‘कोरोनाबारे छलफल गर्न फेरि बैठक डाकौंला’, ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘अन्य एजेण्डामा पनि कुरा गर्दै गरौँला, अहिलेलाई सबै दलले यसमा राष्ट्रिय सहमति बनाउनुस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.