|

राजकुमार थापा

पोर्चुगलमा दर्जनौं नेपालीहरुमा कोरोना भाइरसको संक्रमण भए पनि सार्वजनिक रूपमा कोही  खुलेर आउन सकेका छैनन्। तर एकजना नेपाली चेली कोरोना अनुभव साट्न आत्मविश्वासी भएर सार्वजनिक भएकी छन्। कोरोनासँगको दुई महिना लामो युद्ध जितेर दुई दिन अघि घर फर्किएकी रेखाले कुराकानीको शुरुमा नै भनिन्, ‘बिरामी अवधिभर आमा–बुबा र छोराछोरीलाई औधी सम्झिएर रोंए।’

स्याङ्जा स्थायी घर भएकी रेखा पोर्चुगलको राजधानी लिस्बनको बाइसा सादोमा एक्लै  बस्थिन्  र एउटा चेन फास्टफुडमा काम गर्थिन्।  उनी आफ्नो नियमित  दिनचर्यामा रहँदा रहदै एक्कासी  २२ मार्चमा उनलाई छाती दुख्यो, सामान्य सम्झिएर घर–काम गर्दै थिइन्। एकहप्ता पछि छाती दुख्ने झन् बढ्यो,  सम्पूर्ण शरीर अत्याधिक दुख्यो र ज्वरो पनि आयो, अब भने ज्वरोले शरीर तातिएता पनि कोरोनाले पो भेट्यो कि भनेर मन उनको भने चिसो भयो।  

त्यो बेला पोर्चुगलमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा उकालो लागिरहेको थियो। केही दिन कोरोना हो कि होइन दोमन गर्दै सिटामोल खाँदै  आफ्नो नियमित कर्म  गर्दै रहिन्।

अप्रिल ५ तारिख दुखाइ र ज्वरोको पीडा असह्य भएपछि उनी एक्लै मार्तिमुनिजको साउँ जोंसे हस्पिटल पुगिन् र सबै चेकअप गर्दा झण्डै ६–७ घण्टा हस्पिटल मै बित्यो। हस्पिटलमा डाक्टरहरुले उनको राम्ररी चेकजाँच गरे र कोभिड–१९ हुनसक्ने तर रिपोर्ट दुईदिन पछि  मात्र आउने बताए पछि उनी मनमा अनेकौं तर्कना बोकेर हस्पिटलले व्यबस्था गरेको एम्बुलेन्समा घर फर्किइन्।

अप्रिल  ७ तारिख दिउँसो १२ बजे हस्पिटलबाट फोन गरेर उनलाई  कोभिड–१९ पोजेटिभ भएको जानकारी दिएपछि उनको एकपटक त होस हवास नै उड्यो, ‘म खुब रोए, आँसु सकिएछ क्यारे आँखा पनि रसिला हुन छोडे, तर फेरि मनमा साहस र हिम्मत बटुले, बाच्नु पर्छ, कोरोनालाई हराउनु पर्छ, भन्ने आत्मविश्वास लिंए र औषधी खान थाले। तर कोठामा एक्लै थिए त्यो बेलासम्म पोर्चुगलमा कोरोना आतंक उत्कर्ष तिर जाँदै थियो फेरि मन अति नै अत्तालियो अनि एकहप्ता पछि सोही हस्पिटल गएर अप्रिल १३ तारिख भर्ना भए उनले जीवनकै त्यो कठिन क्षणको सम्झना गर्दै भनिन्। कोरोना भएको एकमहिना पछि  लाग्न शुरु भएको उनको  खोकी  भने अझै विशेक भइनसकेको कुराकानीको क्रममा पनि झल्कन्थ्यो।

डा.र नर्स भगवान सरह 

हस्पिटल भर्ना भएपछि डा र नर्सहरुले उनको यति राम्रो हेरचाह गरे कि रेखाको कोरोना जिते पछिको रमाइलो तिनै डा र नर्सहरुलाई समर्पित गरिन्। पोर्चुगलको हस्पिटल र स्वास्थ सेवाको मुक्त कण्ठले प्रशंसा गर्दै आफ्नो जीवनदान दिएकोमा  डा र नर्सहरु आफ्नोलागि परमेश्वर र भगवान सरह भएको भन्दै अन्तरहृदय देखि आभार व्यक्त गरिन्। 

कुराकानीको क्रममा उनले आफ्नो पारिवारिक चिकित्सक आरियानालाई पटक पटक सम्झदै धन्यवाद र आभार व्यक्त गरिन्। डा आरियानाले नै उनलाई हस्पिटलबाट निकालेर शान्त वातावरणको गेस्टहाउस (पेन्साउ) मा एक महिनासम्म आइसोलेसमा बस्ने व्यबस्था मिलाएकी थिइन्। त्यहाँ बस्दा पनि उनले आरियानाबाट अत्यन्तै प्रेमिलो हेरविचार र ढाडस प्राप्त गरिन् ।

तिलक दाइले दिएको उर्जा

कुराकानीको क्रममा  उनले एनआरएनए पोर्चुगल अध्यक्ष तिलक गैरेलाई पनि बारम्बार सम्झिइन। बिरामी भएको एकहप्ता देखि नै तिलक दाइले पटक पटक फोन गरेर नआत्तिन र हिम्मत नहार्न भनेर  उत्साह र उर्जा दिइरहनु भयो,  एनआरएनएका अरु दाइहरुले पनि बेला बेलामा फोन गरेर स्वास्थ स्थितिको बारेमा जानकारी लिनु भयो, ढाडस दिनु भयो, तर पोर्चुगलमा आफुसँग नजिक रहेका नेपाली साथीहरूले चाहिँ कुनै चासो दिने  र सोधिखोजी समेत गर्नु भएन,  भावुक हुँदै उनले बह पोखिन् ूत्यो बेला गर्न सकिने अरु के नै पो थियो र १ ए साथी के कस्तो भइरहेको छ भनेर  नजिककाहरुले  एक कल फोन पनि नगर्दा सार्है मन दुख्यो तर पनि कुनै गुनासो छैन्, समय नै त्यस्तै थियो भनेर चित्त बुझाएकी छु। 

तर विदेशी साथीहरू भने अनुहारमा माक्स लगाएर बिरामी अवस्थामा आफुलाइ फूलको गुच्छा दिंदै हग गर्दा भने हर्षको आँसु खसे, लाग्यो सातसमुन्द्र पारी पनि माया र स्नेह गर्ने रहेछन्।

पारिवारिक साथ र आत्मबल

कोरोना भएको भएको १५ दिनपछि नेपालमा आमाबुबा र दुई छोराछोरीलाई जानकारी दिंए, पहिला त सबै आत्तिनु भयो, रुनु भयो तर पछि मलाई लगातार कोरोना जितेर फेरि पारिवारिक मिलन हुनेछ भनेर उत्साह र हौसला दिई रहनु भयो, ममा पनि आत्मविश्वास र उर्जा प्राप्त हुँदै गयो, ूकोरोनालाई हराएर जीवनमा फेरि धेरै काम गर्छु भन्ने संकल्प लिंए र संगसंगै डाक्टरले दिएको  औषधी, अनि नेपाली तरिकाको सुप, हट लेमन, मरिच, जिरा, अदुवा, लसुन, नुनलगायत पकाएर, उमालेर  दिनको ६ लिटर सम्म पानी पिंए। कोरोना भाइरसको संक्रमणमा परेका  नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कोरोना जित्ने  हतियार भनेको  नआत्तिने, दृढ आत्मविश्वास लिने र कोरोना सम्बन्धमा जारी निर्देशनहरु पालना गर्दै स्वअनुशासन  बस्नु रहेछ भन्ने अनुभव सुनाइन्।

तीनबर्ष देखि पोर्चुगल बस्दै आएकी ३४ वर्षीया नेपाली चेली रेखा रेग्मीलाई नेपालबाट पोर्चुगल फर्किएको एक महिनामा  नै कोरोनाले समातेको थियो। अहिले दुई महिनाको संघर्षपछि कोरोना युद्ध जितेकोमा फुरुङ्ग परेर रमाएकी छन् उनी। 

हस्पिटलबाट कोरोनालाइ पराजित गरी नेगेटिभ रिपोर्ट लिएर घर पुगेकी रेखाले अलिअलि शारीरिक कमजोरी महसुस गर्दागर्दै पनि  आफू बसेको घर कोठा सबै सरसफाइ गरेपछि उत्साही भएर झण्डै एक घण्टा लामो आफ्नो अनुभव र कोरोना कहानी सुनाइन् र कुराको बीट मार्दै आफुले नयाँ जीवन पाएको र  आफ्नो मनको  कुरा बाढ्न  पाएकोमा अति खुशी लागेको र मन हल्का भएको भन्दै सबै सहयोगी मन र  यो पंक्तिकारलाई पनि धन्यवाद दिन छुटाइनन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.