|

पर्वत : भारतबाट उद्धार गरी पर्वतमा ल्याइएका २९ जनाको स्वाब परीक्षणको नतिजामा नेगेटिभ आएको छ।  भारतको क्वारेनटाइनमा बसेकाहरूलाई उद्धार गरेपछि पिसिआर परीक्षणका लागि उनीहरूको स्वाब प्रादेशिक प्रयोगशाला पोखरामा पठाइएको थियो। 

पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार २९ जनामध्ये १५, पैयुँ गाउँपालिकाका, फलेवास नगरपालिकाका चार, बिहादी गाउँपालिकाका तीन, महाशिला गाउँपालिकाका दुई, मोदी गाउँपालिकाका दुई, कुस्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाका एकजना रहेका छन्। उनीहरु १७ देखि ५० वर्ष उमेरका उनीहरूलाई उद्धार गरी सदरमुकाममा ल्याइएपछि कुस्मामा रहेका क्वारेन्टाइनहरुमा राखिएको छ। यसअघि पनि भारतबाटै आएका दुईजनाको स्वाब परीक्षणको नतिजा पनि नेगेटिभ आएको थियो।

योसँगै पर्वतमा भारतबाट भित्रिएका ३९ जनामध्ये ३१ जनाको नतिजा नेगेटिभ आएको छ भने आठजनाको स्वाब परीक्षणको लागि पोखरा नै पठाइएको छ। 

अब पनि पाउँदैनन् घरमा जान

परीक्षणका लागि पठाइएकाहरूमा पिसिआर रिपोर्ट नेगेटिभ आए पनि उनीहरूलाई घरमा जान दिइने छैन। जिल्ला कमान्ड पोस्टको बैठकले भारतबाट आएकाहरूलाई पहिले सदरमुकाममा रहेका क्वारेनटाइनमा राखेर परीक्षण गरेपछि नतिजा नेगेटिभ आएमा दोस्रो क्वारेनटाइन बसाइका लागि स्थानीय तहमा पठाउने निर्णय गरेको थियो।

कोही कोहीमा पहिलो पटकको परीक्षणमा संक्रमण नदेखिए भए पनि केही समयपछि मात्र संक्रमण देखिन सक्ने भएकाले सोहीअनुसार उक्त निर्णय गरिएको डा. देवकोटाले बताए। कमान्ड पोस्टको बैठकमा सदरमुकाममा रहेका क्वारेनटाइनमा बसेकाहरूको नतिजा पोजेटिभ आएमा उपचारको लागि कोरोना अस्पताल पठाउने र नेगेटिभ आएमा सदरमुकामबाट स्थानीय तहले तयार पारेको क्वारेनटाइनमा पठाउने निर्णय गरेको थियो।

स्थानीय तहको क्वारेनटाइनमा बस्दा पनि उनीहरूमा कोभिड १९ का लक्षणहरू देखा नपरेमा मात्र घरमा पठाइने तर घरमा पुगे पनि सुरक्षित तरिकाले होम क्वारेनटाइनमा बस्नुपर्ने छ। 

सदरमुकामका क्वारेनटाइनमा बसेकाहरूको नतिजा नेगेटिभ आइसकेका कारण उनीहरूलाई स्थानीय तहमा लैजानको लागि सम्बन्धित स्थानीय तहले कमान्ड पोस्ट तथा प्रशासन र अन्य सम्बन्धित निकायहरूसँग समन्वय गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.