गाउँ सिल गरियो तर स्वास्थ्य परीक्षण हुन सकेन

|

बारा : नेपालको चौथो कोरोना संक्रमित मृतक परिवार सरकारलाई सरकारले वेवास्ता गरेको छ। जेठ ४ मा ज्यान गुमाएका वृद्धमा संक्रमण पुष्टि भएको तीन दिन बित्दा पनि स्वास्थ्यकर्मीको टोली पुगेको छैन।  

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नवौँ दिनमा कोरोना संक्रमण पुष्टि भएको बाराका करैयामाई गाउँपालिका–७ उमजनका ७० वर्षीय मृतकका परिवार अझै घरमै छन्।

संक्रमितको सम्पर्कमा आएका परिवारका सदस्यसहित ३२ जनालाई क्वारेन्टाइनमा पनि राखिएको छैन। मृतकको सम्पर्कमा आएकालाई सोमबार नै क्वारेन्टाइनमा राखिने तयारी थियो।

मृतकका जेठा छोराले थाहाखबरसंगको टेलिफोन सम्पर्कमा आफूहरु घरमै रहेको जानकारी दिएका छन्। दाहसंस्कार गरेर कोरामा बसेको परिवारले मंगलबार मृतकको १० औं दिनको काजकिरिया सकेका छन्। 

‘दशौं दिनको काम त सकिएको छ तर १३ औं दिनको काम सकेपछि मात्र प्रकृया पुरा हुन्छ,’ उनले भने,‘घरपरिवारका सदस्यमात्र सहभागी भएर दसाई दिनको काम गरिएको छ।’

परीक्षणमा ढिलाई

सरकारले कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको तीन दिन भईसक्दा पनि मृतकको परिवारको परीक्षण हुन सकेको छैन। पिसिआर परीक्षण नहुँदा मृतको परिवार र उम्जन गाँउ नै त्रासमा छ।

गाउँपालिकाका वडाअध्यक्षले आज परीक्षण गर्न टोली आउँछ भने पनि अझै नआएको मृतकका जेठा छोराले सुनाए। ‘हिजोभन्दा पनि भोली भने, आज भन्दा पनि भोलि नै भन्दैछन्,’ उनले भने, गाउँले नाक थुनेर हिँडिरहेका छन्। सबैलाई अप्ठेरो भइरहेको छ। परीक्षण भइदिए रिर्पोट पनि आउँथ्यो। सबैलाई ढुक्क हुन्थ्यो। सबैलाई संक्रमण भएको छैन होला। सबैले बुवालाई छोएका थिएनन्।’ 

दिक्क भइसक्यौं 

वडाअध्यक्ष विरिज चौधरीले जिल्लाबाट भोलिमात्रै किटसहित स्वास्थ्यकर्मीको टोली आउने जानकारी पाएको उनले बताए। परीक्षण नुहँदा गाउँमा त्रास रहेको उनको जानकारी दिए। 

‘तीन दिनदेखि जिल्ला प्रशासनमा अनुरोध गरेका छौं,’ अध्यक्ष चौधरीले भने–‘भोलि, भोलि भनेर टारेको टा¥यै छन्। हामीले भन्दा भन्दै दिक्क भइसक्यौँ।’

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले परीक्षणका लागि जिल्ला जनस्वास्थ्यलाई भनिसकेको बताएका छन्। किरियामा बसेकाले परिवारको अनुमति दिएर परीक्षण गर्नुपर्ने भएर ढिला भएको होला। 

धेरै ठाउँमा परीक्षण गर्नुपर्ने अवस्था रहेको सुनाए। प्रजिअ पण्डितको प्रतिकृया सुन्दा संक्रमित मृतक परिवारलाई प्राथमिकता नराखेको बुझ्न सकिन्थ्यो।

संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्ने तयारी पूरा भएको छ। क्वारेन्टाइनको तयारी गर्न ढिलो भएको र गाउँपालिका बोर्डबाट आज निर्णय भएकाले आजबाट क्वारेन्टामा राखिने भएको वडा अध्यक्ष चौधरीले जानकारी दिए।

उम्जन गाउँ सिल

उम्जन गाउँ दुई दिनदेखि सिल गरिएको छ। संक्रमण फैलिन नपाओस भनेर मृतकको गाउँ वरिपरि तारबार गरी सिल गरिएपछि गाउँबाट कोहि बाहिर निस्कन पाएका छैनन्।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका कोरोना संक्रमित वृद्धको धार्मिक परम्पराअनुसार स्थानीय गाउँ नजिकैको खोला अन्त्येष्टि गरिएको थियो। क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पातलको भेन्टिलेटरमा भर्ना गराएका थिए। 

मृतकका परिवारलाई जानकारी नगराई अस्पतालले उनको स्वाब संकलन गरेको थियो। स्वाबको वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

उपचारकै क्रममा निधन भएपछि अस्पतालले शव परिवारको जिम्मा लगाएको थियो। रिर्पोट नआउँदै शव परिवारको जिम्मा लगाएपछि अस्पताल विरुद्ध पर्सा प्रशासनले कारवाही गर्ने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.