|

कपिलवस्तु : 'मम्मी बाबाले चिन्ता लिनु हुन्छ। तर म ढुक्क छु। उहाँहरुलाई फोनबाट सम्झाउँछु, कोरोनालाई जितेर आउँछु,'  कपिलवस्तुकी ८ वर्षीय कोरोना संक्रमित बालिकाले फोनबाट आफ्ना अभिभावकहरुलाई सम्झाउँदै भन्छिन्।

डाक्टर बन्ने लक्ष्य लिएकी ती बालिकामा कोरोना जित्ने आत्मविश्वास बढेको छ। उनले फोन मार्फत कुरा गर्दै बुवा आमामा रहेको डर यसरी नै हटाउने गरेकी छन्।  कक्षा ३ मा अध्ययनरत उनी वाणगंगा नगरपालिका ४ की हुन्। उनी आफ्नी साथीसँग खेल्दा संक्रमणमा परेकी थिइन्। 

उनको मिल्ने साथी उपचारका लागि शिक्षण अस्पतालमा जाँदा उनमा कोरोना संक्रमण भएकाे थियाे। उनीसँग नजिक भएपछि स्वाब संकलन गरिएकाे थियाे। नतिजा आउँदा टोलभरिमा उनीमा मात्र काेराेना भएकाे पाइएकाे थियाे। 

बुटवलमा रहेको एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा अहिले उनी उपचाररत छन्। उनको स्वास्थ्य अवस्था ठिक रहेकाे चिकित्सकहरुले बताएका छन्। 

पत्रकारले स्याहार गर्छिन् बालिकालाई 

'सुरुमा उनी एक्लै बस्नुपरेको थियो। एक्लै हुँदा रुने गरेकी थिइन । ४ दिनअघि मसँग भेट भयो ।  अहिले साथी जस्तै भएकी छन्। म यहाँ आएपछि एउटै कोठामा बसियाे। उनलाई आमाले जस्तै गरी स्याहार गर्ने गरेकी छु,' कोरोना संक्रमित साथी बनेकी पत्रकारले बताइन्। 

बुद्धआवाज संचारगृहमा काम गर्ने ती पत्रकारमा समाचार संकलन क्रममा कोरोना संक्रमण भएको थियो। अहिले ती बालिकासँगै उनी बसेकी छन्। पत्रकारले ती बालिकाको हेरविचार र स्याहारसमेत गर्छिन्। उनले बालिकाको कपडा धुने , कपाल कोरिदिने, कसरत गराउने नुहाउन सहयोग गर्ने गरेकी छन्।

बालिका बिहान ७ बजेतिर उठ्छिन्। 'हात मुख धुन लगाउँछु, ब्रस गरेपछि एकछिन सँगै मर्निङ वाक गराउँछु', पत्रकार साथी बताउँछिन्, 'जबदेखि म आएँ, उनको आखामा आँसु आउन दिएको छैन। उनले मलाई अन्टी भनी बाेलाउँदा खुसी लाग्छ,' उनले बताइन्।

संक्रमित पत्रकार र बालिका एकै नगरपालिकाका हुन्। तर घर भने फरक फरक ठाउँमा हो। दुवै पहिल्यैदेखि भने चिनजानका भने थिएनन्। कोरोना संक्रमणपछि संयोगले उनीहरुकाे भेट भएकाे हाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.