भन्छन् : काम गर्न पाएपछि भोकै मर्दैनौं

|

काठमाडौंः सिन्धुलीका नारायण तामाङ हिजोआज खुसी छन। ४१ वर्षीय उनले लकडाउनमै गोकर्ण, नाम्गेलको नयाँपाटी सडक बनाउने काम गर्न पाएका छन्।

४५ दिनसम्म पशुपतिको गुहेश्‍वरीस्थित 'पिजडा'मा परेवा थुनिएझैँ बसेका उनको हातले लकडाउन खुकुलो बनाएसँगै साबेल समाउन पाएको छ। मजदुरी गरेर खान पाएका छन्। त्यसैले उनमा खुसी फर्किएको छ।

‘लकडाउनले अब के गरेर आफ्नो पेट र परिवारको पेट भर्ने भनेर चिन्ता लागिरहेको थियो। काम गर्न पाएपछि ढुक्क छु। खुसी छु। अब त मज्जाले परिवार पालिन्छ', उनले भने। 

उनले १९ दिनदेखि काम गर्न पाएको सुनाए। अहिले सडकको वाल लगाउने र कुलो बनाउने काम धमाधम गर्दैछन। ‘हाम्रो काममा अहिले कुनै बाधा छैन,’मुसुक्क हाँस्दै उनले थाहाखबरलाई भने,‘आनन्दले काम गर्न पाएका छौँ। यति वातावरण पाएपछि हामीलाई अरु के चाहियो र?'

उनले लकडाउनको समयमा पनि ठेकेदारले पैसा नरोकिदिएकोमा उनी झनै खुसी छन्। भन्छन,‘लकडाउनमा पनि समयमै ठेकेदारले पैसा दिन्छन्। झनै काम गर्ने ऊर्जा बढेर पो आयो।’

उनका अनुसार पहिला तनहुँमा काम गरेका थिए। त्यसपछि चैत २ गते काठमाडौं छिरे। बागमती करिडोरमा काम गर्दागर्दै लकडाउन लाग्यो। काम बन्द भयो। काम रोकिएपछि अरु कामदार घर गए। तर, उनी गएनन्। खिस्स हाँस्दै भन्छन, ‘काम बन्द भएपछि अरु साथीहरु हिँडेरै घर गए। म चाहिँ गइनँ। नगएर राम्रै गरेछु।’

लकडाउनले ठेकेदारबाट ज्यालादारी

तामाङ सडक बनाउने कामको ठेक्कापट्टा गर्थे। धेरै कामदारलाई पालेर रोजगार दिन्थे। उनी त समय समयमा कामको हेरचारमात्रै गर्नुपर्थ्यो। मजदुर झैँ खटेर काम गर्नुपर्दैनथ्यो। तर, लकडाउन लागेपछि उनले ठेक्का पाउन छोडे। त्यसपछि उनी ज्यालादारी भएर काम गर्न बाध्य भए।

‘लकडाउनअघि ठूलो ठेक्का पारेर काम गरेको थिएँ,’ उनी भन्छन्,‘तनहुँमा झनै तीन करोड ६२ लाखको काम आठ महिनामै सकाएको थिएँ। तर, लकडाउनले गर्दा हाजिरीमा काम गर्न बाध्य बनायो।’

तनहुँ, पोखरा लगायत धेरै ठाउँमा पुगेर काम गर्ने अवसर मिलेको पनि उनी बताउँछन। उनका अनुसार अहिले तीनजना कामदार छन। सबै सिन्धुलीकै हुन्। राजधानी सहरभन्दा अरु जिल्लामै काम गर्दा वातावरणको हिसाबले धेरै राम्रो हुने उनको अनुभव छ।

‘जिल्लामा काम गर्दा स्वाच्छ वातावरण हुन्छ। चिसो हावा खाँदै काम गरिन्थ्यो। काठमाडौंमा आएर ढल सुँघ्दै काम गर्नु पर्‍यो। सहर त नाम मात्रै रहेछ। फोहोर सहर रहेछ,’ उनले भने।

उनले कामसँगै रासन पानीको पनि समस्या नभएको बताउँछन। उनले भने,‘हामीले १० बोरा चामल झारेका छौँ। रासनपानीको लागि नाम टिपाएका थियौँ। तर, दिएन। नदिएपनि ठिकै छ। समस्या छैन।’ 

त्यही सडकमा काम गर्दै आएका सिन्धुलीकै बिमल श्रेष्ठ पनि खुसी देखिन्छन। ‘अहिले काम गर्न पाइएको छ। अब परिवार पाल्न सक्छु,’ उनले हाँस्दै भने। लकडाउनमा पनि ज्यालादारी मजदुरलाई यसरी नै काम गर्न दिनुपर्ने सरकारसँग उनीहरुको माग छ। ‘दुई दिनमा यहाँको काम सकाउँछौँ। यहाँ सकेपछि गोकर्ण रिसोर्टमा ग्याभिङको जाली भर्ने काम छ। त्यहाँ जान्छौँ,’ यति भन्दै उनीहरु फटाफट काम सुरु गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.