भन्छन् : कोरोना सुन्दा डर लाग्थ्यो तर सामान्य रहेछ

|

काठमाडौं : धनकुटा जिल्ला अस्पतालमा कार्यरत चारजना कोरोना संक्रमित स्वास्थ्यकर्मी बिराटनगरमा उपचार गराउदै अन्य संक्रमितको उपचारमा खटिरहेका छन। उनीहरुलाई कोरोना संक्रमण नदेखिएको भए यतिखेर अरु बिरामीको सेवा र  दौडधुपमा हुन्थे। उनीहरुको अनुभवमा धेरै सिकिस्त नभए अरुलाई संक्रमण नहोस भन्ने कुरामा होसियारी अपनाउदै सामान्य रुपमा लिए पुग्छ ।

जिल्ला अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अहिले अवस्था अर्कै छ। अस्पताल पूरै सिल गरियो, खाली गरेर सेनिटाइज भइसक्यो। संक्रमित स्वास्थ्यकर्मीहरु हाल उपचारको क्रममा विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा छन्। 

अस्पतालका दुई स्टाफ नर्स, दुईजना अहेव, दुई सुरक्षाकर्मी र अस्पतालकै कर्मचारीका श्रीमानसहित सातजनालाई कोरोना संक्रमण देखिएको थियो। जेठ ४ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा सुरुमा एकजना नर्समा कोरोना संक्रमण देखिएको थियो।

जिल्ला अस्पतालमा कार्यरत ती नर्समा कोरोना देखिएकै भोलिपल्ट अर्थात ५ गते गरिएको स्वाब परीक्षणमा अस्पतालका दुई कर्मचारी, सुरक्षाकर्मी तथा अन्य एक जना गरी ७ जनामा कोरोना पोजेटिभ देखियो।

अस्पतालकी नर्समा कोरोना पोजिटिभ देखिएपछि सबैले एकपटक परीक्षण गर्ने सल्लाह भयो। त्यही सल्लाहअनुसार कोरोना परीक्षण गरिएको कोशी अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित गणेश बुढाथोकी बताउँछन्।

अस्पतालका कर्मचारीमा देखिएपछि आफूले पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए। स्वाब लिएको २ दिनपछि कोरोना पोजिटिभको रिपोर्ट आयो। ‘जब रिपोर्ट आयो त्यसबखत  म आफै पनि तर्सिएँ। म कसैको पनि सम्पर्कमा पुगेको थिइनँ। कसरी मलाई कोरोना संक्रमण भयो?,'उनी आफै आश्चर्यमा परेका छन्। 

पहिलोपटक विराटनगरको अस्पतालमा आएर बस्दा उनी डराएका थिए। पहिलो दिनको अस्पताल बसाइमा के होला? कस्तो होला भनेर रातभर निदाउन नसकेको बुढाथोकी बताउँछन्। भोलिपल्टदेखि अस्पतालमा सबै परिचित अनुहार देखेपछि अप्ठयारो महसुस नभएको उनले बताए। ‘घरपरिवारबाट टाढा छौँ भन्‍ने मात्रै हो। नत्र यहाँ अस्पतालमा सबै  आफ्नै अस्पतालका कर्मचारी र चिनेजानेका छौँ,’ उनले भने।

‘अस्पतालमा मात्र काम गरेर सिधा घरा जाने आउने गरेको थियौं,’ उनले भने,’कोरोनाको त्रासले उच्च सतर्कता अपनाएर काम गरिरहेका थियौं। कसरी मलाई कोरोना लाग्यो अचम्मको लागेको छ।‘

उनले धनकुटा जिल्ला अस्पतालमा काम गरेको आठ वर्ष भयो। परिवारको अन्य सदस्यलाई भने  संक्रमण नदिखएको उनी सुनाउँछन। सबै परिवारको सदस्यहरु होम क्‍वारेन्टाइनमा रहेको उनले बताए।

‘अस्पतालमा उपचाररत प्रायजसो सबै संक्रमितको अवस्था सामान्य छ। तर, एकजनाको स्वास्थ्य अवस्थामा केही समस्या आए पनि अहिले तिनको पनि स्वास्थ्य अवस्था राम्रो भइसकेको छ,’ उनले भने,’ सुरुमा ती संक्रमितलाई केही दिन निमोनिया देखिएको थियो। अहिले भने लक्षण पनि केही देखिएको छैन।‘

रुघाखोकी लाग्दा असहज महसुस हुन्छ तर, यसले त त्यस्तो केही नभएको जस्तो लागिरहेको उनले बताए। उनले भने,’ कोरोना पोजेटिभ देखिएको छ भन्‍ने मात्र हो। यो रोग सुन्दा मात्र डर लाग्‍ने रहेछ। लाग्दा न दुखेको छ न केही भएको छ। अब मात्र नेगेटिभ रिपोर्टको प्रतीक्षामा बसेको छु।‘

कोरोना सबैलाई लाग्‍न सक्छ, दृ्ष्टिकोण बदलौँ

धनकुटा अस्पतालमा कार्यरत अर्का अहेब पनि यतिखेर विराटनगरमा उपचार गराइरहेका छन्। नाम नबताउने सर्तामा उनी भन्छन,’ पहिलोपटक परीक्षण गराउँदा हामीलाई केही हुन्‍न भन्‍ने लागिरहेको थियो। पछि रिपोर्टमा त पोजेटिभ देखेपछि आकाशबाट बज्रले हानेजस्तै भएको थियो।‘  पोजेटिभ देखिएपछि घर परिवारमा  रुवाबासी भएको उनले बताए।

‘कोरोनामुक्त भएपछि पुन अस्पतालमा गएर बिरामीको सेवा गर्नेछु,’ उनले भने,'यो रोग सामान्य रहेछ आत्तिनु हुँदैन भन्‍ने बनायो। विश्‍वास छ चाँडै घर जान्छु। म त कोरोना संक्रमित होइन जस्तो लाग्छ।‘ बिरामीको सेवा गर्ने मानिस बिरामी भएर बस्नुपर्दा अनौठो लागिरहेको उनी सुनाउँछन्।

‘अस्पतालले बिहान खाजामा रोटी तरकारी, खाना र दिउँसो खाजा उपलब्ध गराइरहेको छ', उनले भने, 'बेसार पानी, अदुवा पानी खाइरहेका छौँ। अस्पतालको सबै डक्टरहरुको व्यवहार राम्रो छ।' 

कोरोना भाइरसको संक्रमणले सबैलाई आक्रमण गर्न सक्छ, सबैले सावधानी अपनाउनुपर्न उनले बताए। तर, समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने उनको सुझाव छ। रोगले गर्दा मानिसलाई नछुने  र टाढा बनाउने जस्तो व्यवहार गर्नु भनेको अहिलेको समयमा सिंगो मानव जगतलाई जिस्क्याए जस्तो हुने उनले बताए।

'स्वास्थ्कर्मीलाई सधैं, साथ र हौसला प्रदान गरौं'

धनकुटा अस्पतालका दुईजना नर्स पनि यतिखेर कोरोना उपचार केन्द्रमा छन्। अस्पतालको आइसोलेसनमा बसेपछि  बिरामीको सेवा गर्ने नर्सको दैनिकी फेरिएको कोरोना संक्रमित शीला सुब्बा बताउँछिन्। ‘अन्य संक्रमित बिरामीको सेवा गर्दै दिन कटिरहेको छ,’ उनले भनिन, 'एकजना भाइलाई स्लाइन पानी चढाउने गर्छौ‌ँ।संक्रमितको स्वास्थ्यअवस्था सामान्य छ। एउटै अस्पतालका ४ जना छौँ।'

सुब्बालाई अस्पतालमा उपचार गराउन आएको महिलामा संक्रमण देखिएपछि मनमा त्रास पसेको थियो। ‘यसबाट बच्नका लागि हामी पहिलेदेखि तयारी अवस्थामा थियौं,’ उनले भनिन,’ तर, त्यस्तो लक्षण देखिएको छैन। गाह्रो पनि भएको छैन।'

स्वास्थ्यकर्मीहरु सधैंभरी फ्रन्टलाइनमा आएर काम गर्ने भएकोले उनीहरुलाई साथ र हौसला प्रदान गर्नलाई पनि उनले आग्रह गरिन्।

नोट : संक्रमितको अनुमतिमा नाम प्रकाशित गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.