निःशुल्क पाउने किताबको शुल्क लिँदै

|

जनकपुरधाम : लकडाउनको बेला शहीदनगर नगरपालिका–७ धबौलीस्थित एसएनआर जनता माविले पुस्तक वितरण सुरु गरेको छ।

विद्यालयले माध्यमिक तहका विद्यार्थीलाई किताब वितरण गर्दै आएको छ। किताब ल्याउन आउने विद्यार्थीहरुले मास्क समेत नलगाएको र दूरी पनि कायम नगरी उभिएका थिए। 

विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारको निर्देशनमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरुलाई किताब वितरण गरिएको शिक्षक रबिन गोहिबार यादवले बताए। विद्यार्थीहरुले मास्क नलगाएको र सामाजिक दूरी कायम गर्न नसकेको विषयमा उनले गल्ती भएको स्वीकारेका छन्। उनले भने, ‘हिजो थोरै विद्यार्थी आउँदा दूरी कायम गरी वितरण गरेका थियौं। आज भिड बढी भएर दूरी कायम गर्न सकेनौं।’

यता, अभिभावक राजेन्द्रप्रसाद यादवले भने लकडाउनका बेला शिक्षकहरुले भिडभाड गरेर विद्यार्थीलाई किताब बाँडेको देख्दा आश्चर्य लागेको बताए। उनले भने, ‘शिक्षकहरुले चरम लापरबाही गरेका छन्। यसरी किताब बाँड्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्छ।’

विद्यार्थीहरुबाट किताब बापत विद्यालयले रकम समेत असुली गरेको भन्दै अभिभावकहरुले विरोध गरेका छन्। कक्षा ८ मा अध्ययनरत पप्पु यादवले किताब बापत आफूसँग ४८० रुपैयाँ लिइएको बताए। उनले भने, ‘कतिपय साथीले रुपैयाँ ल्याएका थिएन। अनी उनीहरुलाई सरले किताब नदिएपछि त्यतिकै घर फर्केका छन्।’

उनका अनुसार कक्षा ७ का विद्यार्थीबाट ४२० रुपैयाँका दरले रकम लिइएको छ। तर रकम तिरेको बिल भने कसैलाई दिइएको छैन। शिक्षक यादवले भने नयाँ नामाङ्कन बापत विद्यार्थीहरुबाट रकम लिएको बताए। रकम लिएपछि बिल किन नदिएको विषयमा उनले पनि केहि बोल्न मानेनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.