बजेट सकारात्मक तर कार्यान्वयनमा ध्यान दिऊँ

|

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले बिहीबार प्रस्तुत गरेको बजेट सकारात्मक रहेको टिप्पणी गरेका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको श्रव्य दृश्य छलफलका क्रममा पूर्वअर्थमन्त्री पाण्डेले मानव स्वास्थ्य र अर्थतन्त्रको स्वास्थ्य बिग्रेको बेलामा जस्तो बजेट आउनुपर्ने थियो, त्यस्तै आएको भन्दै प्रसन्‍नता व्यक्त गरे। 

नेता पाण्डेले सङ्क्रमण रोग नियन्त्रणका लागि ३०० श्यया ‘बेड’को अस्पताल सङ्घीय राजधानीमा बनाउने, प्रदेशमा ५० बेडको र स्थानीय तहमा समेत अस्पताल बनाउने विषय समावेश गरिएको विषय महत्वपूर्ण भएको बताए। तर जिल्लाका अस्पतालमा नै चिकित्सक नरहेको अवस्थामा पालिकाहरुमा स्वास्थ्यकर्मी पुर्‍याउने विषय भने आफैंमा चुनौतीपूर्ण भएको टिप्पणी उनले गरे। 

चालू आवमा तोकिएअनुसारको बजेट कार्यान्वयन हुन नसकेको, राजश्‍व सङ्कुचनमा आएको र विप्रेषणको अवस्थामासमेत कमी आएको अवस्थामा आगामी दिनमा पनि त्यसको प्रभाव पर्न सक्नेतर्फ उनले सचेत गराए।

वैदेशिक मुद्रामा दबाब पर्यटन, वैदेशिक रोजगारीमा समस्या परेकाले दबाब पर्ने अवस्था छ। सरकारले चालू खर्च कटौती गर्ने विषयलाई विशेष व्यवस्था गरेको तथा अनावश्यक कार्यालय खर्च, कार्यक्रम बन्द गर्ने तथा स्वास्थ्य क्षेत्रमा झण्डै २२ अर्बबराबरको बजेट थप हुनु स्वाभाविक र महत्वपूर्ण रहेको उनले बताए।

उनले बजेटमा झण्डै ६ लाख रोजगारी सिर्जना गर्ने विषय महत्वपूर्ण भए पनि विभिन्‍न शीर्षकमा राखिएको बजेटलाई एकीकृत गरेर एउटै बास्केटमा राखेर काम गर्नुपर्ने सुझाव दिए। 

नगरपालिका र गाउँपालिकाको सिफारिसमा दिने गरी ५० अर्बको कोष खडा गरेर गाउँपालिका र नगरपालिकाको सिफारिसका आधारमा ऋण दिन चाहनेलाई दिने व्यवस्था गरिएको भए थप प्रभावकारी हुने धारणा राखे।  

रोजगारीका लागि दिइने रकमको सदुपयोग हुनेतर्फ पनि ध्यान दिनुपर्ने बताए। उनले सरकारले खर्च कटाउने तथा अनावश्यक क्षेत्रमा खर्च नगर्ने विषय आफैंमा सकारात्मक भए पनि आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्छ त भन्‍ने प्रश्‍न भने कायमै रहेको बताए। 

वैदेशिक सहयोग नआएको अवस्थामा आन्तरिक ऋण उठाएर चालू खर्च धान्‍नुपर्ने अवस्था आउन सक्ने भएकाले विशेष ख्याल राख्न सरकारलाई सुझाव दिए। 

सरकारले खर्च कटौती गर्दा, निजी क्षेत्रलाई कुनै समस्या नपर्ने भएकाले त्यसको विरोध गर्नुको अर्थ नहुने नेता पाण्डेको भनाइ छ। उनले आन्तरिकरुपमा बजार विस्तार गरी आर्थिक गतिविधि बढाउनका लागि तरकारी, दूधजस्ता कृषि उपजकोसमेत माग बढाउनुपर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.