म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ दाना फगाम गाउँका जोगबहादुर विकको जागिर छैन। उनी विदेश पनि गएनन्। तर घरमै बसेर उनी वार्षिक १० लाख कमाउँछन्। विकले आफ्नै गाउँमा बसीबसी कमाएको पैसाले सहरमा घरघडेरी जोडेका छन्।
यस्तै फगामकै दिलमाया पुनका श्रीमान् विदेशमा छन्। श्रीमानले विदेशमा कमाएको पैसा श्रीमानकै उपचारमा खर्च हुन्छ। तर दिलमायाले गाउँमै वार्षिक ३ देखि ४ लाख रुपैयाँसम्म कमाउँछिन्।
विश्वभर कोरोना महामारी छ। देश लकडाउनमा छ। तर फगाम गाउँका बासिन्दा भने नर्सरीमा रमाइरहेका छन्। सुन्तला र कागतीका बिरुवा हुर्काइरहेका छन्।
उनीहरुले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं कमाइरहेका छन्। फगामका अधिकांश घरले आफ्नो बारीमा नर्सरी स्थापना गरेका छन्।
करिब ७० घर रहेको फगाममा सुन्तला र कागती खेती राम्रो हुने गर्छ। विकले भने, ‘३ दशकभन्दा बढी भयो, तरकारी र बिरुवाको खेती गर्न थालेको।’ आफ्नै खेतीयोग्य जमिनमा उत्पादन भएका बिरुवा बिक्रीबाट उनले यो सफलता हात पारेको बताए।
त्यसैगरी फगामकी दिलमायाले पनि पनि लाखौं कमाउन सफल भएको बताइन्। श्रीमानको कमाइबाट उनले नर्सरी व्यवसाय थालेकी हुन्। दिलमायाले प्रगतिशील मल्टी एग्रो तथा फलफूल नर्सरी सञ्चाल गरेकी छन्।
नर्सरीमा कागती र सुन्तलाका १५ हजार बढी विरुवा छन्। ‘२ दशक हुन लाग्यो, उहाँ विदेश गएको तर बिरामी भएर आफूले कमाएको पैसा आफैंलाई उपचार गर्न ठिक छ, मैले यहाँ बिरुवा बेचरे घर चलाएको छ’, उनले भनिन्। फगामका यसरी नर्सरी चलाउने दुई दर्जन बढी कृषक छन्।
लकडाउन (बन्दाबन्दी) को समयमा उनीहरुले धमाधम बिरुवा बेचिरहेका छन्। गाउँपालिका भित्र व्यावसायिक कृषि पेसा गर्ने किसानका लागि गाउँपालिकाले अनुदान र बजारीकरणको व्यवस्था पनि गरिदिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुनले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।