जाजरकोट : भारतबाट आएका स्थानीयहरुलाई विद्यालयको भवनमा राख्न लागेको भन्दै गाउँका शिक्षक तथा स्थानीयले विद्यालय भत्काइदिएका छन्।
भारतलगायतका मुलुकबाट उद्धार गरी ल्याइएकाहरुलाई विद्यालयमा क्वारेन्टाइन बनाएपछि भेरी नगरपालिक–६ कृष्ण मन्दिरमा रहेको कृष्ण प्राथमिक विद्यालयको भवन स्थानीयले भत्काएका हुन्।
वस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालय छानो र पर्खाल सबै भत्काइदिएको वडाध्यक्ष शशी बुढाले बताए। उनीहरुले क्वारेन्टाइनका लागि ल्याइएको सामग्री पनि फालेका छन्।
स्थानीयको सहमति, वडा स्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार उक्त विद्यालयलाई क्वारेन्टाइन बनाई उद्धार गरिएका स्थानीयहरुलाइ राख्न खोज्दा शिक्षक जयबहादुर शाही, स्थानीय नैनवहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र वले घर्तीलगायतले विद्यालय भवन नै भत्काइदिएपछि समस्या आएको वडाध्यक्ष बुढाले बताए।
विद्यालय वरिपरि घरहरु नभए पनि उनीहरुले अवरोध गरेको वडाध्यक्ष बुढाको भनाइ छ। विद्यालय भत्काएकोवारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्की दिएको समेत उनले बताए। यसबारे जानकारी लिन खोज्दा शिक्षक शाही लगायत स्थानीय सम्पर्कमा आएनन्।
नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको असल काममाथि अवरोध पुर्याउनेमाथि कडा कारवाही हुने बताए। विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जो सुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए।
भारतलगायतका तेस्रो मुलुकबाट उद्धार गरी ल्याइएकाहरुलाई सदरमुकाम खलंगाका विभिन्न स्थानका विद्यालय र सरकारी भवनहरुमा क्वारेन्टाइन बनाएर राख्ने गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।