ट्रम्पले भने : 'डब्ल्यूएचओ चीनको नियन्त्रणमा छ'

|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट अलग्गिने घोषणा गरेका छन्। 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसलाई शुरुमै नियन्त्रणमा नलिएको आरोप लगाउँदै ट्रम्पले शुक्रबार डब्ल्यूएचओमा अमेरिका नरहने बताएका हुन्।

संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको यो एजेन्सीका लागि अमेरिकाले दिँदै आएको सहायता ट्रम्पले यसअघि नै रोकेका थिए। साथै, डब्ल्यूएचओ चीनको कठपुतली भएको आरोप समेत उनले लगाउँदै आएका थिए। 

मेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'हामीले व्यापक सुरधारका लागि अनुरोध गरेपनि डब्ल्यूएओले यसमा असफल रह्यो, आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग आफ्नो सम्बन्ध तोड्दैछौं, अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको फण्ड अबदेखि विश्वभर सार्वजनिक स्वास्थ्यमा खर्च गर्नेछ, डब्ल्यूएचओ पूर्णतः चीनको नियन्त्रणमा छ, जबकी चीनले अमेरिकाको तुलनामा डब्ल्यूएचओलाई निकै कम रकम दिने गर्छ।' 

ट्रम्पले अघिल्लो महिना नै डब्ल्यूएचओलाई ३० दिनभित्र ठोस सुधार नगरे अमेरिकाले स्थायी रुपमै सहायता बन्द गर्ने चेतावनी दिएका थिए। साथै, डब्ल्यूएचओले गरेको गल्तीको मूल्य सारा विश्वले नै चुकाइरहेको उनले दावी गरेका थिए। एक पत्र नै लेख्दै उनले डब्ल्यूएचओलाई चीनपरस्त नहुन भनेका थिए। 

कोरोना भाइरसका मामिलामा चीन सरकारले अपराध गरेको ट्रम्पले बताउँदै आएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि उनले भने, 'चीनले यो वैश्विक महामारीको शुरुवात गर्‍यो, एक लाख भन्दा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएर त्यसको मूल्य चुकाउनु परेको छ।'

डब्ल्यूएचओले कोरोना भाइरसका मामिलामा चीनसँग मिलेर पूरै विश्वलाई गुमराहमा पारेको तथा सुधारका लागि गरिएको मागलाई समेत सम्बोधन नगरेको ट्रम्पले आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.