बाँझो जमिन जोतेर सामूहिक खेती

|

म्याग्दी : कोरोना भाइरस (कोभिड १९) कारण आगामी दिनमा उत्पन्न हुनसक्ने खाद्य संकटको पूर्वानुमान गर्दै हिमाली जिल्ला म्याग्दीमा सम्भावित खाद्य संकट विरुद्धको तयारी शुरु गरिएको छ।

वैदेशिक रोजगारीमा गएर फर्किएका र अध्ययन,व्यावसाय वा जागिरका लागि शहरमा वस्दै गरेका युवाहरु लकडाउन (बन्दाबन्दी) का कारण गाउँ फर्किएर वर्षौदेखि बाँझो रहेका जमिनलाई खनजोत गरी खेती गर्न थालेका छन्।

पश्चिम म्याग्दीको मालिका,धौलागिरि  र मंगला गाउँपालिका, उत्तरी म्याग्दीको अन्नपूर्ण र रघुगंगा गाउँपालिकाका साथै बेनी नगरपालिकाका युवाहरु यतिखेतर बाँझो जमिन जोत्न,खोरिया फाँड्न र तरकारी,फलफूल तथा वर्षेबाली लगाउन व्यस्त छन्।

सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको र बाली लगाउनुअघि नै किसानको नाफा सुनिश्चित गर्ने नीति लिँदै कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने घोषणा गरेपछि म्याग्दीका युवाहरु कृषि क्षेत्रतर्फ आकर्षित भएका हुन।

दुखुमा सामुहिक कृषि 

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा वडा कार्यालयको सहयोगमा बाँझो जमिनलाई हरियाली बनाउने अभियान शुरु गरेका छन्। दुखुका गाउँलेहरु मिलेर सामुहिक कृषि खेती शुरु गरेका छन्।

लकडाउनको समयमा गाउँ फकिएका युवाहरु मिलेर स्थानीय रुपमा उत्पादन हुने सिमि, भट्टा, कोदो,मकै लगायतको खेती बाझो जमिनमा लगाउन खनजोत सुरु गरेका  हुन्।

१६ घरधुरीको २२ बर्षदेखिको १ सय ७० रोपनी बाझो जमिनमा गाउँले मिलेर १० बर्षसम्मको आम्दानी गाउँहरुले लिने सम्झौता जग्गाधनीसंग गरेर झाडी फाड्ने खनजोत गरेर खेती गर्न सुरु गरेका हुन्। 

९८ घरधुरी रहेको दुखुलेकमा ४८ दिन लगाएर झाँडी पन्छाई दैनिक ६ हल गोरुले बाझो जमिन जोतेर हरियाली बनाउन लागिएको छ।  मालिका गाउँपालिका वडानम्वर ६ का वडा अध्यक्ष सन्तनाथ सुवेदीले एक गाउँ एक उत्पादन योजनासंगै रैथाने बालि पकेट निर्धारण गरेर भुगोल अनुसार खेती सुरु गरेको बताए।

स्थानीय सर्गबहादुर रोकाले बाझो बसेको जमिनलाई हरियाली बनाउने अभियानमा सरिक हुन शहर वा गाउँबाहिर रहेका युवाहरुलाई गाउँमा आउन आग्रह गरे।

बाँझो जोत्न ३ लाख बजेट 

खेतितर्फ आकर्षित, आयात घटाउने, रोजगारि र आयआर्जन बढाउने र स्थानीय आवश्यक खाद्यान्न उत्पादनसंगै आम्दानी बढाउने उद्देश्यले बाँझो जमिन जोत्न दुखुलेकमा गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरेको छ।

सार्वजनिक जग्गामा टिमुर लगाउन १ लाख र बाझो जमिनमा वा खेती गर्दै आएको जग्गामा २ लाखको सिमिको विउविजन खनजोत गरेर लगाउन विनियोजन गरेको वडासदस्य पदबहादुर रोकाले बताए।

कृषकको उत्पादन सहकारी संस्थाले खरिद गरिदिने 

विश्वब्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन स्थानीय तहले एक गाउँ एक उत्पादन लक्षित गरेर रोजगारी सिर्जना गर्न अुनदान लगायतको ब्यवस्था गरेको छ। 

गाउँहरुले उत्पादन गरेको टिमुर सिमि, गहत भट्ट लगायतको खेतीको बजारीकरणको लागि दरवाङमा आत्मनिर्भर ब्यवसायी कृषि सहकारी संस्थाले जिम्मा लिएको छ।

बाँझो जमिन जोतेर खेती गर्नेलाई गाउँपालिकाको अनुदान 

त्यस्तै धौलागिरि गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ। कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरि बाँझो जमिन प्रयोगमा ल्याउने सम्बन्धी कार्यविधि ल्याएर कार्यान्वयन गर्ने उपाध्यक्ष छन्त्यालले जानकारी दिए।

गाउँपालिकाको उपल्लो क्षेत्रमा खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफुल, जडिवुटीको ब्यवसायिक खेतितर्फ आकर्षित गर्न लागिएको उनको भनाइ छ। तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुर लगायतका जडिवुटी खेति गर्न कृषकहरुलाई आग्रह गरिएको छ।

सातवटै वडामा खाद्य बैंक 

‘‘विश्वब्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन पालिकाका ७ वटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराउने नीति सहित अगाडी बढेका छौं‘‘ उनले भने।

खाद्य संकट, सामाजिक विचलन र आर्थिक संकट ल्याउने भएकाले मदिरा उत्पादनबाट जिविकोपार्जन गर्दै आएकाहरुलाई आयआर्जनको बैकल्पिक सिप सिकाउने गाउपालिकाले जनाएको छ।

उत्तरी म्याग्दीमा पनि खोरिया फाँडेर खेती गर्ने अभियान 

उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि धमाधम खोरिया फाँडेर तरकारी खेती अभियान शुरु भएको छ।

गाउँपालिकाका सबै वडाहरुमा गरी २ सय रोपनी भन्दा बढि बाँझो जग्गामा तरकारी,फलफूल र खाद्यान्न बाली लगाइएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

युवा व्यस्त : अरुलाई मस्त 

त्यस्तै अन्नपूर्ण गाउँपालिकामा पनि युवाहरु कृषि कर्ममा लागेका छन्। गाउँमा यतिबेला खेतबारीको कामको सिजन शुरु भएको छ। धानको व्याड बनाउने,बिऊ राख्ने बाँझो जोत्ने लगाएतको काममा युवाहरु खटिरहेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं ६ का वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले दिए।

‘विगतमा कृषि कर्मका लागि जनशक्तिको अभाव हुने गर्दथ्यो,अहिले युवाहरु नै खेतीपातीको काममा लागेपछि निकै सहज भएको छ, गाउँपालिकाका प्रवक्ता बरुवालले भने।

नगरपालिका क्षेत्रमा तरकारी र फलफूल 

यता बेनी नगरपालिकाका १० वटै वडाहरुमा बाँझोरहेका खेतीयोग्य जमिनको पहिचान गरी त्यो जमिनमा सामुहिक वा एकल खेती गर्ने अभियान शुरु गरिएको छ।
बेनी नगरपालिका २ बगरफाँटमा पहिले बाँझो रहेका जग्गामा अहिले धमाधम केरा खेती गरिएको छ भने वडा नं ३ तोराखेतमा खोरिया फडानी गरिँदैछ।

त्यसैगरी कृषिका लागि उर्वर मानिएको वडा नं ४ सिंगामा पनि एक टुक्रा जमिन बाँझो नराख्ने अभियान संचालन भैरहेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.