|

डोल्पा : १० बर्षे माओवादी जनयुद्धमा सुरुदेखि नै होमिएका लोक बहादुर चलाउने (बबर) ले गत बुधवार आफ्नो जीवनलाई सदाका लागि उर्लदो भेरीमा विर्सजन गरे।

उमेरले ६० पार गरेका बबरले कपडा र लट्ठी लगायतका सामान किनारमा छाडेर भेरी नदीमा हेलिएको स्थानीयवासीले जानकारी दिएका छन्‌। त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने ठुलोभेरी नदिमा हाम फालेर कमरेड बबरले आत्महत्या गरेका हुन्। 

को हुन्‌ कमरेड बबर ?

जनयुद्धकाल र त्यसपछि पनि जिल्ला र कर्णाली क्षेत्रमा कमरेड बबरका नामले चर्चित चलाउने शुरूदेखि नै जनयुद्धमा सामेल भएका थिए। 

१९ वर्षअघि २०५८ माघ २ गते चलाउनेसहित १५ जना आस्थाका बन्दीहरूले सुर्खेत जेलब्रेक गरेका थिए। माओवादी जनयुद्धका क्रममा भएकामध्ये यो ठूलो संख्यामा भएको दुर्लभ जेलब्रेकमध्येको एक थियो।

सुर्खेत जेल ब्रेकको १८ वर्ष : नेताले यसरी सम्झिए ती दिन

चलाउने जनयुद्धमा शुरूदेखि नै संलग्न इमान्दार र कर्तव्यनिष्ठ नेता रहेको उनका युद्धकालिन सहकर्मीहरू बताउने गर्छन्‌। 

किन गरे आत्महत्या ? 

निजी सम्पत्ति पार्टीकरण गरेका चलाउने युद्ध अन्त्य भएसँगै सुकुम्बासी बनेका थिए। निश्वार्थ ढंगले पार्टीमा लागेका चलाउनेले त्यसयता आफ्नो व्यक्तिगत आर्थिक अवस्था फेर्न सकेका थिएनन्‌।

उमेरले पनि वृद्ध भइसकेका चलाउनेले आत्महत्या गर्नुका पार्टीप्रतिको वितृष्णा र पार्टीले गरेको बेवास्ता प्रमुख कारण रहेको जिल्लाका नेकपाल नेताहरू बताउँछन्‌। 

उमेर ढल्किएसँगै चलाउनेको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। स्वास्थ्य उपचार गरिदिन उनले केही महिनाअघि कर्णाली प्रदेश सरकारसँग अनुरोध पनि गरेका थिए। तर उनको उपचारमा प्रदेश सरकारले बेवास्ता गरेको थियो।

'योद्धाको मृत्युमा पार्टीले एक शब्द पनि खर्चेन'

उपचार गर्न नसकेपछि र पार्टीले बेवास्ता गरेपछि भेरी नदीमा हेलिएका कमरेड बबरको निधनमा नेकपाका केही नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत श्रदान्जली दिएपनि पार्टीले आधिकारिक रुपमा श्रद्धान्जलीसम्म नदिएको भन्दै नेकपाकी महिला नेतृ काली चलाउनेले आपत्ति जनाएकी छिन्‌।

'कमरेड बबर जनयुद्धको सुरुवातदेखि नै पूर्णकालिन कार्यकर्ता भएर पार्टीमा लाग्नुभयो, बबर सुर्खेत जेल ब्रेकका एक योद्धा पनि हुनुहुन्थ्यो, तर उहाँले देहत्याग गरेपछि नेकपा डोल्पाले एउटा सेतो कागजमा कालो मसी खर्चेर गरेर दुई शब्द कोर्न पनि चाहेन,' चलाउनेले भनिन्‌, 'आजको विशाल पार्टी बनाउन उहाँको अतुलनीय योगदान छ, तर आज त्यहि पार्टीले कमरेडको बबरको योगदान चिन्न सकेन्, शोक वक्तव्यसम्म निकालेन।'

जिउँदो छँदा बबरलाई पार्टीले मुल्याङ्कन नै नगरेको र मृत्युपश्चात समेत एउटा झन्डा र दुई शब्दको लायक नठानेकाले यसबारे आफूले पार्टी नेतृत्वलाई प्रश्न सोध्ने चलाउनेले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.