|

सल्यान : सल्यानमा लकडाउनसँगै रोकिएका विकास निर्माणका काम फेरि अघि बढाइएको छ।

कर्णाली प्रदेश सरकार र स्थानीय तहले सडक निमार्ण, पुल, भवन र साना तथा मझौला योजनाको काम अघि बढाएका हुन्‌। कर्णाली प्रदेश सरकारले १० करोड रुपैयाँ लागत छुट्याएको तीनवटा मोटेरेबल पुल निर्माणको काम भैरहेको छ।

थारमारे फारुलाचौर सडक खण्डको दार्माखोलामा पक्की पुल, थारमारे चौरजहारी सडक खण्डको जिमाली खोलामा पक्की पुल, शारदा नगरपालिका वरला माल्नेटा सडक खण्डको शारदा खोलामा पक्की पुल निर्माण अघि बढाइएको हो।

यस्तै, २२ करोड रुपैयाँ लागतमा सम्पन्न हुने तीनवटा सडक (थारमारे चौरजहारी सडक, लेखपोखरा, लान्ती, काभ्रा सडक, कालिमाटी वालुवा हुँदै दमदवाली सडक) स्तरोन्नतीको काम पनि भैरहेको छ।

भौतिक पूर्वाधार विकास कार्यालय सल्यानका निमित्त प्रमुख इन्जिनियर विनोद पुनले एक महिनाभन्दा बढी अवधिसम्म काम रोक्नुपर्दा निर्धारित समयमा पुल निर्माण सम्पन्न नहुने देखिएपछि काम अघि बढाइएको बताए।

उनका अनुसार ठूला-साना निर्माण कार्य शुरू भएर पनि लकडाउनले रोकिएका योजना पुन: सूचारु गरिएको छ। कोरोना भाइरस संक्रमणबाट जोगिने उपाय अवलम्बन गर्दै प्रदेश र स्थानीय सरकारले विकास निर्माणका काम अघि बढाएको उनले जानकारी दिए।

सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले राष्ट्रिय गौरव, स्थानीयस्तरमा दीर्घकालिन महत्व राख्ने विद्यालय, स्वास्थ्य चौकी भवन, पक्की पुन निर्माणका लागि अनुमति दिएको बताए। उनले भने, ‘निर्माण कम्पनी वा स्थानीय तहले स्थानीय रुपमै उपलब्ध जनशक्ति प्रयोग गरी विकास निमार्ण अघि बढाएका छन्‌, बाहिरबाट श्रमिक ल्याउन दिइएको छैन।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.