भन्छन् : अब भोकै मर्ने चिन्ता छैन

|

काठमाडौं : खोटाङ अर्चलेका मधुधन चाम्लिङ राईले काठमाडौंमा ज्याला मजदुरी गर्दै चारजनाको परिवार पाल्दै आएका थिए। तर कोरोना महामारीका कारण गरिएको लकडाउनले उनको रोजिरोटी सबै खोसिदियो। उनी बिलखबन्दमा परे, आफ्नोसँगै परिवारको पेट पाल्ने सबै विकल्प बन्द भए। उनको छटपटी बढ्यो।

लकडाउनअघिसम्म बिहानै सिमेन्टको बोरा उचाल्दै काममा खटिने उनी घरमा बन्धक बनेको दुई महिना बितिसक्यो। सिमेन्ट र बालुवाको मसला बनाएर बडेमानका घर ठड्याउने उनै मधुधन अहिले काठमाडौंको तीनधारेस्थित कोठामै थन्किएका छन्।  

ज्याला मजदुरी गरेर बिरामी श्रीमतीको औषधिमुलोसँगै छोराछोरीलाई पढाउँदै आएका उनलाई अहिले पर्नुसम्म संकट परेको छ। मजदुरी गर्ने हातखुट्टा लकडाउनका कारण घरमै बाँधिएपछि उनलाई श्रीमतीको औषधिमुलो गर्ने उपाय नहुँदा दिनरात सताइरहन्छ।

उनकी श्रीमती लामो समयदेखि दुवै खुट्टा नचल्ने समस्याले थलिएकी छन्। डाक्टरले थाइराइडको समस्याले यस्तो भएको बताएछन्। तर, मधुधनलाई थाइराइड भएको डाक्टरको भनाईमा फिटिक्कै विश्‍वास छैन। उनी श्रीमतीलाई प्यारालाइसिस भएको दाबी गर्छन्। श्रीमतीको औषधिमुलोमा उनले दिनको २५० रुपैयाँ खर्चिँदै आएका छन्। 

ज्यालामजदुरी गरेर कमाई राखेको खुत्रुके दिनदिनै रित्तिँदै छ। लकडाउन नखुलेपछि परिवार पाल्ने विकल्प नपाएर उनको छटपटी बढिरहेको थियो। विकल्प सोच्दा सोच्द छटपटीमा परेका उनी टोलाइरहेका बेला मोबाइलमा घण्टी बज्यो। तर उनका लागि त्यो फोन अरु बेलाको जस्तो थियो, एउटा फोनको घण्टीले उनलाई राहत पनि लिएर आएको थियो। त्यो फोन थियो चर्चित हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को। 

बल्छीको काठमाडौंकै खरिबोटमा फुटसल छ। त्यही फुटसल बनाउने बेला मधुधनले पनि मजदुरी गरेका रहेछन्। बल्छीले लकडाउनको समयमा आफ्ना परिवारपछि तीनै मधुधनलाई सम्झेछन्।

फुटसल मैदान बनाउँदा इमानकासाथ काम गरेकाले बल्छीले उनलाई धेरै नै माया गर्दा रहेछन्। बल्छी उनलाई राई बा भनेर बोलाउँछन। ‘लकडाउनको समय छ। ज्यालामजदुरी गरी कमाएर परिवार पाल्ने राई बा! के गर्दै होलान् भनेर मनमा पिर पर्यो,’ बल्छीले भने, ‘के गर्नु बाबु अहिले काम केही गर्न पाएको छैन। आउने बाटो ठ्याक्कै बन्द भो! भनेर फोनमा सुनाएपछि मैले न आत्तिनुस म तपाईंलाई खानेकुराहरु ल्याइदिन्छु भनेँ।’ 

लकडाउनको यो अवधिमा बल्छीले राई बाको घरमा दुई पटक खाद्य सामाग्री पुर्‍याइसकेका छन्। बिहान बेलुका के खाने भनेर मनमा हुटहुटी भइसकेका राई बाको मन अहिले शान्त छ।

‘बल्छीबाबुले दुई पटक थुप्रो सामान ल्याइदिसक्नु भो,’ मधुधनले भने, ‘मैले भान्सामा किन्‍ने सामान लकडाउन यता केही किन्‍नु परेको छैन। सबै उहाँले नै ल्याइदिनु भएको छ। मलाई त भगवान आएझैँ भएको छ।’ बल्छीले यो लकडाउन जहिलेसम्म लम्बिए पनि राई बाको परिवारलाई पुग्‍ने खाद्यन्‍न जोहो गर्दिने बाचा पनि गरेका छन्।  

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.