अमेरिकाकाे अधिकांश मृत्युदर स्वाभाविक

|

गत डिसेम्बरबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्‍व यतिबेला हायलकायल छ। कोरोना मान्छेबाट मान्छेमा सर्ने एक प्रकारको संक्रामक रोग भएको कारण यसबाट जोगिन मानिस मानिसबीचको दूरी अपनाउन विश्‍व स्वास्थ संगठनले नै आग्रह गरेको छ।

विश्‍वका अधिकांश देशमा फैलिएको यो भाइरसको हालसम्म कुनै औषधि आविष्कार नभएकाले मानिस मानिसबीच दूरी राख्‍न विश्‍वका अधिकांश देश लकडाउनमा छन्। हाललाई लकडाउन नै यो रोग नियन्त्रण गर्ने निर्विकल्प उपाय मानिएको छ। 

त्यसो त लकडाउनबिना कोरोना नियन्त्रण नै नभएको पनि होइन। १६ मे मा भारतको इन्डियन एक्प्रेस पत्रिकाले प्रकाशन गरेको एक समाचारमा जनाइएअनुसार स्विडेन, दक्षिण कोरिया र ताजकिस्तानले उचित सावधानी अपनाउँदै लकडाउन नै नगरी कोरोना महाव्याधिबाट देशलाई जोगाएको उल्लेख गरेको छ। 

केही देशको उदाहरण दिँदै लकडाउन विकल्प नै होइन भन्‍ने विचार राख्नु गलत हुन्छ। तर, लकडाउन नै कोरोना नियन्त्रणको एक मात्र विकल्प हो भन्‍ने विचार पनि अतिशयोक्ति हो। लकडाउनको प्रमुख उद्देश्य भनेको संक्रमण फैलिन नदिनु हो। संक्रमण फैलिएपछिको लकडाउनले आशातित प्रतिफल दिँदैन भन्‍ने उदाहरणका लागि हामीले विश्‍वशक्ति राष्ट्र अमेरिकालाई हेर्न सक्छौँ। 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हालसम्म अमेरिकामा एक लाख दुई हजार ७ सय ९८ जनाको निधन भइसकेको छ। जोन्स हप्किन्स विश्‍वविद्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १७ लाख ४५ हजार ६ सय ६ जनामा यो रोगको संक्रमण देखिएकोमा चार लाख ६ हजार चार सय ४६ जना उपचारपछि निको भएका छन्। 

कोरोना संक्रमितमध्ये करिब ५० हजारभन्दा बढी अमेरिकन अझै पनि उच्च जोमिखमा रहेका विश्‍वविद्यालयले जनाएको छ। कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित देशमा अमेरिका हालसम्म पहिलो स्थानमा छ र सम्भवत पहिलो स्थानमा नै रहने छ। 

गत डिसेम्बरमा चीनबाट सुरु भएको यो भाइसरका कारण चीनमा ४ हजार बढी मानिसको निधन भइसकेको छ भने ८० हजार बढी मानिसमा यो संक्रमण देखापरेको छ। चीन सरकारबाट सार्वजनिक आधिकारिक तथ्यांकका हिसाबमा कोरोनाका कारण बढी प्रभावित १० देशको सूचीमा चीन पर्दैन।

यद्यपि, केही समयअघि सार्वजनिक चिनियाँ नागरिक फाङ फाङको लकडाउन अनुभूतिसम्बन्धी पुस्तक ‘वुहान डायरी’मा चिनियाँ सरकारले सार्वजनिक गरेको कोरोना तथ्यांकभन्दा बढी चिनियाँ प्रभावित भएको हुन सक्ने दाबी गरेकी छन्।

लेखिकासँगै अमेरिकाले पनि चीनले सार्वजनिक गरेभन्दा बढी मानिस प्रभावित भएको बताउने गरेको छ। लेखिका फाङ र अमेरिकाको दाबीले जोन्स हप्किन्स विश्‍वविद्यालयले सार्वजनिक गर्ने तथ्यांकलाई प्रभावित पारेको छैन।  

कोरोनाकै कारण अमेरिकामा मृत्युदर बढेको हो त ?

अब यहाँ स्वाभाविक प्रश्‍न आउँछ। के अमेरिकामा निधन भएका मानिसको संख्या कोरोना भाइरसकै कारण बढेको हो त? वासिङटन पोस्टमा अप्रिल महिनामा प्रकशित समाचारमा उल्लेख भएअनुसार सन् २०२० मा अमेरिकामा अपेक्षितभन्दा करिब ६६ हजार बढी मानिसको निधन भइसकेको छ। 

जसमा कोरोनाका कारण ३२ हजार ३ सय २५ मानिसको निधन भएको उल्लेख गरिएको छ भने बाँकी निधन अन्य कारण भएको उल्लेख छ। यस्तै वासिङटन पोस्टमै प्रकाशित समाचारअनुसार अमेरिकामा निधन हुने मानिसको संख्या कोरोनाका कारणभन्दा पनि अन्य कारण बढी देखिन्छ। ३० अप्रिलमा प्रकाशित समाचारमा जनाइए अनुसार १ मार्चदेखि ४ अप्रिलबीचमा अमेरिकामा अपेक्षितभन्दा १५ हजार ४ सय बढी मानिसको निधन भयो। 

त्यही अवधिमा अमेरिकामा कोरोनाका कारण निधन हुने मानिसको संख्याको तुलनामा यो संख्या डलब भएको बताइएको छ। कोरोना संक्रमण हुने त्रासका कारण अन्य रोगका बिरामी समयमै अस्पताल नजाँदा, अस्पताल पुगेको अन्य रोगका बिरामीको समयमै उपचार नपाउँँदा अपेक्षित संख्याभन्दा बढी अमेरिकीको निधन भएको समाचार दाबी गर्छ। 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) मा उल्लेख भएअनुसार सन् २०१७ मा २८ लाख १३ हजार पाँच सय तीन मानिसको निधन दर्ता भएको थियो। 

अमेरिकामा मानिसको निधनको मुख्य कारणमा मुटुरोग (६ लाख ४७ हजार ४ सय ५७), क्यान्सर (५ लाख ९९ हजार १ सय आठ), दुर्घटना (एक लाख ६९ हजार ९ सय ३६), श्‍वासप्रश्‍वास सम्बन्धी रोग (एक लाख ६० हजार दुई सय एक), हृदयघात (एक लाख ४६ हजार तीन सय ८३), अल्जाइमर (एक लाख २१ हजार चार सय चार), मधुमेह (८३ हजार पाँच सय ६४), निमोनिया (५५ हजार ६ सय ७२), किड्नी समस्या (५० हजार ६ सय ३३), आत्महत्या (४७ हजार एक सय ७३) छन्। 

वार्षिक रुपमा अमेरिकामा निधन हुनेमध्ये ७४ प्रतिशत मानिस माथि उल्लिखत कारणबाट हुने सिडिसीले उल्लेख गरेको छ। यस्तै सिडिसीमै उल्लेख भएअनुसार सन् २०१८ मा २८ लाख ३९ हजार २ सय ५ अमेरिकीको निधन दर्ता भएको थियो। यो अघिल्लो वर्षको तुलनामा २५ हजार ७ सय २ ले बढीे थियो। निधनको ज्यादतर कारण माथि उल्लेख गरिएका १० कारण नै छन्। 

विगत पाँच वर्षदेखि अमेरिकामा निधनको कारणमाथि उल्लेखित १० कारण नै बढी हुने गरेको सिडिसीको दाबी छ। जसमा प्राकृतिक हिसाबमा निधन हुने अथवा बुढ्यौलीका कारण निधन हुनेको संख्या प्रत्येक १० हजारमा करिब आठ सय छन्। 

कोरोना र अमेरिकी रोजगार बजार

अमेरिकास्थित मिनेसोटा विश्‍वविद्यालयअन्तर्गत संक्रामक रोग नीति तथा अनुसन्धान केन्द्रले मे महिनाको पहिलो साता सार्वजनिक गरेको एक अनुसन्धानअनुसार कोरोनाका कारण अमेरिकामा २० दशमलव ६ मिलियन मानिसले रोजगारी गुमाएका छन्। 

सार्वजनिक यो तथ्यांक मध्य मार्च महिनापछिको हो। पछिल्लो अवस्थामा अमेरिकामा बेरोजगार हुने मानिसको संख्या १४ दशमलव ७ प्रतिशत रहेको छ। जुन सन् १९३० को महामन्दी यताकै ठूलो संख्या भएको विश्‍वविद्यालयको दाबी छ। 

सन् २००७/२००९ को आर्थिक मन्दीका कारण अमेरिकामा ८ दशमलभ ७ प्रतिशत मानिस बेरोजगार भएको बताइन्छ। कोरोनापछिको दुई महिनाको तथ्यांक त्यसको करिब डबल पुगेको छ। 

कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित हुने देशमा संयुक्त राष्ट्रसंघ अन्तर्गत सुरक्षा परिषदमा रहेका पाँच राष्ट्र (अमेरिका, बेलायत, रसिया, फ्रान्स, चीन) मध्ये (अमेरिका, बेलायत, रसिया र फ्रान्स) चार राष्ट्र ‘टप टेन’मा छन्। विश्‍वकै प्रभावशाली र धनी राष्ट्रहरुको समूह जी–७ राष्ट्र (अमेरिका, क्यानाडा, बेलायत, जर्मन, फ्रान्स, इटाली, जापान) मध्ये पाँच राष्ट्र (अमेरिका, बेलायत, जर्मन, फ्रान्स, इटाली) ‘टप टेन’मा रहेका छन्। 

यसले विश्‍वका शक्तिशाली र विकशित कहलिएका देश आपतकालीन परिस्थितिका लागि अल्पविकशित र विकासशील देशकै हारहारीमा झरेको बुझिन्छ।

लकडाउनको विरोध

अमेरिकामा राष्ट्रिय रुपमा लकडाउन घोषणा भने भएकै छैन। अमेरिकाको संघीय राज्यसँग स्वायत्तताको अधिकार रहेका कारण केन्द्र सरकारले स्वतन्त्र हिसाबमा लकडाउनको घोषणा गर्न पाउँदैन। यद्यपि राज्यहरुले आवश्यकताअनुसार लकडाउन उपाय भने अपनाएका छन्। 

अमेरिकामा पहिलो पटक क्यालिफोर्निया राज्यले लकडाउन घोषणा गरेको थियो। सुरुवाती चरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउन विरोध गरे पनि कोरोना भाइरसले करिब १ लाखदेखि २ लाख अमेरिकीको ज्यान लिन सक्ने उनले स्वीकार गरेका थिए। 

अमेरिकामा कोरोना भाइरस नियन्त्रणमा नआए पनि लकडाउन विरोध भने भइरहेको छ। बिबिसी वल्र्डले २७ अप्रिलमा नै लकडाउनको विरोध भएको उल्लेख गरेको थियो। लकडाउनको विरोध वासिङटनमा मात्रै होइन, अमेरिकाका अन्य राज्यमा पनि भएको समाचार प्रकाशित भएका छन्।  

शान्तिपूर्ण रुपमा नागरिकहरु सार्वजनिक स्थानमा जम्मा हुन पाउने संविधानप्रदत्त अधिकारलाई लकडाउनले बाधा पुर्‍याएको भन्दै अमेरिकामा लकडाउनको विरोध भएको हो। चीनको वुहान सहरबाट सुरु भएको कोरोना नियन्त्रण गर्न चीन सरकारले लकडाउन घोषणा गरेको थियो। जुन ७६ दिनसम्म रह्यो।

अन्य देशमा पनि कोरोना भाइरसको जीवाणु देखिएपछि चीनले जस्तै लकडाउन गर्ने कि नगर्ने भन्‍ने विवाद उत्पन्न भएको परिप्रेक्ष्यमा राष्ट्रपति ट्रम्पले अमेरिका प्रजातान्त्रिक देश भएका कारण चीनले जस्तो जनतालाई बन्धक बनाउन नसक्ने अभिव्यक्ति दिएका थिए। 

संक्रमणको सुरुवाती चरणमा स्पेन, इटालीले लकडाउन पूर्ण पालना नगर्दा कोरोनाले भयावह रूप लियो। अमेरिकाले पनि लकडाउन विरोध गरेको थियो। यद्यपि संक्रमण तीव्र बढ्दै जाँदा राज्य सरकारले नै लकडाउन घोषणा गरे।

लकडाउनलाई नागरिकको समर्थन किन?

लकडाउनको उद्देश्य सरकारलाई भाइरस रोकथामका लागि समय उपलब्ध गराउनु हो। आफ्नो समस्यालाई ओझेलमा पार्दै सरकारलाई सहयोग गर्न जनताले लकडाउनमा साथ दिएका हुन्। आफ्नो वैयक्तिक समस्याको विस्मृतिका कारण होइन। लकडाउनको क्रममा जनतालाई घरबाहिर निस्किन नदिई सम्भावित बिरामी र बिरामीसँग सम्पर्कमा आएका व्यक्तिको परीक्षणमा पर्याप्त अवधि दिनकै लागि लकडाउन परिकल्पना गरिएको हो। 

जनताको ज्यानभन्दा अन्य विषय ठूलो नभएको भन्दै विश्‍वभर लकडाउन गरिएको छ। तर, वासिङ्टन पोस्टको समाचारलाई आधार मान्ने हो भने कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा कोरोनासँगै अन्य रोगका बिरामीको पनि ज्यान गइरहेको छ। प्रभारम्भिक चरणमा कोरोनाका कारणभन्दा अन्य कारण ज्यान घुमाउनेको संख्या बढी देखिएको छ।

लकडाउने भाइरस परीक्षणका लागि समय दिन्छ। प्रत्याभूत समयमा भाइरस परिक्षण नगर्ने तर लकडाउनको समयवधि मात्रै बढाउने हो भने यसको उपादेयतामाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ। 

विश्‍व स्वाथ्य संगठनले कोरोना भाइरस केही समय रहने प्रक्षेपण गरेको छ। यदि उक्त प्रक्षेपण साँच्चै सही हो भने भाइरससँग लड्न आखिर कहिलेसम्म लकडाउनलाई नै अन्तिम उपाय मान्‍ने?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.