एक बालिकाको मृत्यु

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा थप पाँच जना कोरोना संक्रमति थपिएका छन्।

आइतबार धनगढीस्थित सेती प्रादेशक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराको बूढीगंगा नगरपालिका १ की दुई वर्षीया मृतक बालिका र उनकी २३ वर्षीया आमा, कैलालीको धनगढी उपमहानगरपालिका ३ का ४७ वर्षीय पुरुष, कैलालीकै भजनी नगरपालिका ७ का २३ वर्षीय युवक र जानकी गाउँपालिका ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

यसअघि यहाँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआर परीक्षणमा बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको थियो। आइतबार थप पाँच जनामा पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उपमहानगर ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए। 

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। उनी वीरगञ्जबाट कैलाली आएकी थिइन्। वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ बिरामी फेला परेका थिएनन्।

जेठ ९ गते एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।  

कैलालीका तीन संक्रमितमध्ये एक जना भारतबाट लुकिछिपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिनअघि भारतबाट फर्किएका थिए।

अन्य तीन जनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यसपछि १० जेठमा यहाँका बैतडीका चार जनामा कोरोना पुष्टि भएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।

जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो।

अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। कैलालीका संक्रमित पनि भारतबाट आएका थिए। १५ जेठमा कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो।

सुदूरपश्चिममा सुरुवातका ५ जना संक्रमित पनि कोरोना जितेर घर फर्किसकेका छन्। कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.