प्लटिङ गर्ने सेनाको काम छैन, संख्या घटाएर जाऊँ

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद सुदन किरातीले देशको अनावश्यक खर्च कम गर्न सांसदहरुको संख्या पनि कटौती गर्नुपर्ने बताएका छन्।

आइतबारको संसद बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन। ‘कर्मचारी नयाँ नियुक्ति नगर्ने भनिएको छ। खर्च कटौतीको निम्ति यो सकारात्मक कुरा हो,’ उनले भने, ‘संविधान संसोधन गरेर ५५ प्रतिशत सांसदहरु पनि कटाइदिऊँ। किन यत्रो धेरै सांसद राख्‍नु पर्यो नेपाललाई? जनताले पनि त्यसै भनिराखेका छन्।’ 

उनले अहिलेको अवस्थामा पनि सिमानामा खटाउन नसके सेनाको संख्या पनि घटाउन सरकारसँग माग गरे। ‘सार्वभौमसत्ता माथि गम्भिर प्रश्‍न उठिराखेको बेला सिमानामा सेना खटाउन सकिँदैन भने सेनाको पनि संख्या घटाइदिऊँ’, उनले भने, ‘सेना आज प्लटिङ गर्दैछ, पेट्रोलपम्प खोलेर राजयको तलब खाएर पेट्रोल भर्दै बसेको छ। सेनाको आफ्नै अदालत छ रे! कता कता सुन्छु जेल पनि आफ्नै बनाउँदै छ। के यो दोहोरो राज्यसत्ताको अभ्यास गर्न खोजिएको हो?’ 

उनले स्वास्थ्य क्षेत्र संकटमा रहेको भन्दै सरकारले छुट्याएको बजेट पर्याप्त भएको टिप्पणी गरेका छन्। ‘स्वास्थ्य क्षेत्रमा संकट छ। तर, अहिले नै हामीलाई जेल चाहिन्छ, पानी जहाज चाहिन्छ, त्यति मात्रै नभएर आणविक स्टेशनहरु पनि चाहिन्छ होला तर, अहिलेको मुख्यप्राथमिकता भनेको कृषि, शिक्षा स्वास्थ्य नै हो,’ उनले वास्तविक किसान अहिले सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेटले सन्तुष्ट हुने अवस्था छैन। राष्टपति कृषि पुरस्कार पाएको मानिस आज विदेश गएको छ।विदेशबाट आएर लगानी गर्नेहरुको हालत के छ?,’

उनले अहिलेको बजेटमा रहेको शिक्षा क्षेत्रको बजेट सही कार्यान्वयन हुनेमा शंका गरे। ‘शिक्षामा आज खाजाको नाममा बजेट हालिएको छ। खाजाको क्षेत्रमा लगानी हुने पैसा खाजामै लगानी हुन्छ की हुँदैन अनुगमन गर्ने मापदण्ड खै?,’ उनले भने, ‘आज जनकपुरको इतिहास, अरुण भ्यालीको, डोटीको इतिहास पढाउँदैनौँ, हामीले सही इतिहास पढाउँदैनौ।’ 

पञ्चायतले पनि विकासको,समृद्धिको कुरा गरिरहँदा आज इतिहासको पानामा कैद भएको भन्दै उनले अहिलेको नीति ठीक नभएको बताए। असाधारण परिस्थितिबीच प्रस्तुत बजेटमाथि भएको सकारात्मक पक्षको आफ्नो समर्थज रहेको पनि उनले बताए। 

‘मैले भोट समाजवाद ल्याउँछु भनेर मागेको थिएँ। तर, समाजवादको साइनबोर्ड राखेर यो सेतो घरमा कुहिएको पुँजीबाद बेचिँदो रहेछ,’ उनले भने, ‘आमाहरुले भन्‍नु हुन्थ्यो ल्हासामा सुन छ कान मेरो बुच्चै। अब म तीन वर्षपछि कान बुच्चै बनाएर फर्कँदैछु।’ उनले सरकारले जनताको समस्या सम्बोधन गर्ने गरी बजेट ल्याउन नसकेको पनि दाबी गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.