सात प्रतिशत आर्थिक वृद्धि भए राजनीति त्याग्छु

|

काठमाडौं : नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताए। 

‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो मेरो चुनौति छ', उनले भने, 'नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जिडिपिको ग्रोथ रेट २०७७/०७८ मा भायो भने म राजनीति छोडिदिन्छु।’

बैठकमा सांसद देवले बजेटको कुन वर्षका लागि आएको हो भन्दै प्रश्न गरे। ‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएकाहरुको मात्रै बजेट हो की?,’ उनले प्रश्‍न गरे।

बजेटमा सिमान्तकृत, विपन्‍न र गरिब नागरिकलाई नसमेटिएको उनले बताए। धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गरे। 

'लकडाउनका कारण सप्तरीमा मलरसदाले खान नपाएर भोकभोकै प्राण त्याग गर्‍यो । खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सूर्यबहादुर तामाङ दाम्लो र डोको छातीमा राखेर प्राण त्याग गर्‍यो', उनले भने, 'आज हजारौं लाखौं मलर सदा र सूर्यबहादुर तामाङ यो मुलुकमा छन्। त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि। के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो?’

उनले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाए। लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलीयाको संख्या बढेको र कृतिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको उनले बताए।

कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाए। पिसिआर परीक्षण गर्नसमेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उनले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताए।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र बिउबिजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.