|

डडेल्धुरा : डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेका छन्। परशुराम नगरपालिका–१० का २८ वर्षीय युवकले कोरोना जितेका हुन्।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

‘उहाँको दुई पटक नमुना परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्न लागेका छौँ,’ उनले भने, ‘सम्भवत आज उहाँ कोनोना जितेर घर जानुहुन्छ होला।’

सरकारी कर्मचारीसमेत रहेका ती युवकमा गत जेठ ९ मा संक्रमण पुष्टि भएको थियो। डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत ती युवकले १० दिनमै कोरोना जितेका हुन्। उनको आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको छ। 

योसँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ६ पुगेको छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो।

धनगढी उपमहानगर–५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए। 

वैशाख १ गते लम्की चुहा नगरपालिका–१ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। उनी वीरगञ्जबाट कैलाली आएकी थिइन्। उनीहरू पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन्। 

कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। 

सुदूरपश्चिममा सोमबारसम्म कोरोना संक्रमितको संख्या २७ छ। जसमध्ये ६ जना निको भएका छन् भने एकजनाको कोरोनाबाट मृत्यु भएको छ। बाजुराको बूढीगंगा–१ की दुई वर्षीया बालिकाको आइतबार मृत्यु भएको थियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.