घटना फितलो बनाउन गृहमन्त्री नै लागेको आरोप

|

काठमाडौं : रुकुममा भएको नरसंहारको घटना ढाकछोप गर्न आर्थिक चलखेल सुरु भएको आरोप नेपाली कांग्रेसका एकजना सांसदले लगाएका छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसएका एकजना सांसदले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ।

रुकुम पश्‍चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो। 

प्रतिनिधिसभामा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरेका छन्। 

'यति ठूलो घटना भइसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानविन समिति गठन गर्नुभएको छ। त्यो छानबिन समितिले न्याय दिन सक्दैन', उनले भनेका छन्, 'हामीलाई समितिको मान्यता पनि छैन। यस हत्याकाण्डलाई फितलो बनाउन जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं सत्तापक्षबाट।'

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सांसद विश्‍वकर्माले आफ्नो धारणा राखेका थिए। गम्भीर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए। 

'घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदिय समिति तत्काल गठन होस्। यही माग हामी राख्छौं', उनले भने, 'यदि तत्काल गठन भएन भने यो भन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस।'

गृहमन्त्री रामबहादुर थापा 'बादल' ले पनि रुकुम घटनाबारे विवादित टिप्पणी गरेको उनले बताए। 'गृह मन्त्रीले तिनीहरु हामफाले भन्‍नुभएको छ। पोस्टमार्टमा गर्दा ती मृतकका पेटबाट पानी आएको छैन', उनले भने, 'मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्टमा गर्दा पानी नअमाउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो। त्यस्तै कसैलाई डोरी बाधेर खोलामा फालिएको थियो।'

पश्‍चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो। उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो। गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको भन्दै त्यस घटनाको छानबिन गर्न काग्रेसले माग गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.