डिस्चार्ज हुनेहरु भन्छन् : आत्मबल दह्रो बनाए निको भइन्छ

|

बुटवल : रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। 

बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवास्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए। डिस्चार्ज हुनेमा एक जना ४ बर्षीय बालिका समेत रहेको उनले जनाए। 

भीम अस्पतालका अनुसार सोमबार डिस्चार्ज हुनेमा एक भारतिय नागरिकसहित रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४, सिद्धार्थनगर नगरपालिकाका १, कोटहीमाई गाउँपालिकाका १, कपिलवस्तुुका ५ र नवलपरासीका ३ जना रहेका छन्। 

उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन्। 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये कसैलाई पनि गम्भीर लक्षण नदेखिएको बताए।  

‘सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या देखिएको थिएन। डिस्चार्ज हुन पाउँदा सबैजना खुसी छन्’, उनले भने। यससँगै अस्पताल ल्याइएका पहिलो समूहले कोरोनालाई हराउँदै घर  फर्केको छ। मेसु दर्नालका अनुसार संक्रमितलाई डिस्चार्ज गरिएपछि अस्पताल खाली भएको छ। 

डिस्चार्ज गरिएपछि संक्रमण मुक्त भएकाहरुले केहीबेर अस्पताल परिसरमा नाचेर खुशी व्यक्त गरेका थिए। उनीहरुलाई पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमै पुगेर बिदाई गरेका थिए। 

यस्तै आइतबार रुपन्देहीको बुटवलस्थित आइतबार कोरोना विशेष अस्पतालबाट ४ जना संक्रमित निको भएर घर फर्किएका छन्। निको भएका उनीहरूमध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीका हुन्।

वैशाख २९ र ३० गते अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए।

‘१५ देखि ४० वर्षसम्मका पुरुष घर फर्किनुभयो’, उनले भने, ’अहिलेसम्म १५ जनालाई पठायौं। बिरामीलाई निको भएर पठाउँदा खुसी लागेको र आत्मबल बलियो राख्ने र अपनाउनुपर्ने नियममा ख्याल गरे कोरोनालाई जितिने थापाले जनाए।

यसअघि वैशाख ३० गते रुपन्देहीका १ र जेठ १० गते कपिलवस्तुका १० जना घर फर्केका थिए। अस्पतालमा ३१ जना जनरल वार्ड र १ जना आइसीयूमा उपचाररत रहेको उनले बताए। प्रदेश ५ मा हालसम्म ७७ जना कोरोना जितेर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.