डोटीमा पहिलो संक्रमित फेला

|

डडेल्धुराः सुदूरपश्चिममा सोमबार एकैदिन १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। जसमा १५ जना पुरुष र तीन महिला छन्। पछिल्लोपटक थपिएका नयाँ संक्रमितमध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरुमध्ये ११ पुरुष र तीन जना महिला छन्।

बैतडी, अछाम, डोटी र कञ्चनपुरका एक–एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना देखिएको हो।

योसँगै प्रदेशभित्र संक्रमितको संख्य ४३ पुगेको छ। १८ संक्रमित थपिएसँगै कैलालीमा २७, बैतडीमा पाँच, अछाममा तीन, बाजुरा र कञ्चनपुरमा दुई/दुई, डोटी, डडेल्धुरा र दार्चुला एक÷एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुरा र बझाङका एक÷एक जना संक्रमित भने कर्णाली प्रदेशमा छन्।  

सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी दुबईबाट फर्किएका थिए। 

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उपमहानगर ५ की ३४ वर्षीय महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

लम्कीका २१ वर्षीय युवक भारतबाट फर्किएका थिए। वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। उनी वीरगञ्जबाट कैलाली आएकी थिइन्। वैशाख १ गतेसम्म पुष्टि भएका पाँचै जना संक्रमित कोरोनालाई जितेर घर फर्किसकेका छन्। 

त्यसपछि ४० दिनसम्म सुदूरपश्चिम प्रदेशमा कोरोनाका नयाँ बिरामी फेला परेका थिएनन्। जेठ ९ गते एकै दिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षीय युवक, डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय युवक र बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

कैलालीका तीन संक्रमितमध्ये एक जना भारतबाट लुकिछिपी आएका थिए भने बैतडीका संक्रमित पनि संक्रमण पुष्टि हुनुभन्दा ६५ दिनअघि भारतबाट फर्किएका थिए। अन्य तीन जनाको भने आन्तरिक ‘ट्राभल हिस्ट्री’ मात्रै रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यसपछि १० जेठमा यहाँका बैतडीका चार जनामा कोरोना पुष्टि भएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। जेठ ११ गते अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भयो। उनी पनि जेठ ८ गते नै भारतबाट फर्किएका थिए। 

१३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको थियो। अछामकी संक्रमित बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिइन्। कैलालीका संक्रमित पनि भारतबाट आएका थिए। 

१५ जेठमा कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका ५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

आइतबार मात्रै यहाँका थप ५ जनामा कोरोना पुष्टि भएको थियो। जसमा एक बालिकाको मृत्यु भइसकेको छ। सुदूरपश्चिमका ६ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.