समस्या होइन सफलता र उपलब्धि गन्नुपर्छ

|

कोभिड-१९ को त्रास र बन्दाबन्दीको कारण घरभित्र बसिरहनुपर्दा धेरैलाई मानसिक अशान्ति, असहजता र अस्थिरताको अनुभूति भएको अड्कल काट्न सकिन्छ। ७० दिन लामो बन्दाबन्दी समय बिताए पनि दैनिक बढ्दै गएको कोरोना संक्रमितको संख्याले गर्दा अझै कहिलेसम्म यो स्थिति रहला भन्ने अनुमान गर्न नसकिने अवस्था छI

कोरोना संक्रमितको संख्या एक दुई दश बीस पचास सय हुदै हजार मात्र होइन   आजको दिनसम्म दुईहजार नजिक पुगेको छ।  जसको तुलनामा मृत्यू अत्यन्तै न्यून छ। तर जे भइरहेको छ यसले बन्दाबन्दी अझै आवश्यक छ भन्ने देखाएको छI नेपाल अरू देशको तुलनामा अहिलेसम्म सहज अवस्थामा देखिएपनि जोखिममुक्त छ भन्न सकिने अवस्था भने छैन।

यसको अर्थ अरू केहि समय सबैले धैर्य गर्नु आवश्यक छI असहज परिस्थिति आइपर्दा सबैभन्दा पहिले आत्तिने हाम्रो मन हो। त्यसकारणले सबैभन्दा पहिला सिक्नुपर्ने विषय मनको व्यवस्थापन नै हो। 

चुनौती पनि सधैं कायम रहँदैन एकदिन यो बितेरै जानेछ। हामी धैर्य हुनु जरूरी छ। यस्तो अवस्थामा अरू कस्तो छ जान्न खोज्नु र त्यसमै समय बिताउनु संसार हो भने, आफू कस्तो छु जान्ने कोशिस गर्नु अध्यात्म हो।

बन्दाबन्दी अघिसम्म हामीले महसुस नगरेको दु:ख, असहजता र प्रतिकूलता अहिले हामीले गरिरहेछौँ। सत्य यहि नैं हो कि दु:ख पर्दा मात्र हाम्रो मनको खेल र मन दुखेको थाहा हुन्छ। प्रतिकूलता र सुखमा त मसंग मन पनि छ भन्ने हेक्का नै हुँदैन। जीवन यस्तै हामीले जे चाहन्छौं त्यसरी नै चलिरहन्छ भन्ने भ्रम रहिरहन्छ। त्यसकारण दु:ख, पीडा, डर, तनाव, चिन्ताको अनुभव हुने बित्तिकै आफ्नो मनप्रति सजग हुने र त्यसको व्यवस्थापन गर्ने काम प्रारम्भ गर्नुपर्छ।

थोरै प्रयासले पनि के थाहा हुन्छ भने सारा समस्या र प्रतिकूलता मनको बाहिरी तहमा मात्र सिमित हुन्छन्। मनको भित्री तहसम्म कुनै पनि नकारात्मक भाव कहिल्यै प्रवेश गर्न सक्दैन। आफ्नो आत्मबल, जोश, जाँगर र र ऊर्जाको कहिल्यै नसुक्ने स्रोत आफ्नो मनको भित्री तह नै हो। आफ्नो मनलाई चिन्ने र व्यवस्थित गर्ने कार्य अहिलेको अभ्यास हुनुपर्छ।

असहजताको एउटा मात्र कारण छ त्यो हो अस्वीकार। कुनैपनि घटना या परिस्थितिप्रतिको अस्वीकृतिको कारण मानिसमा असहजता उत्पन्न हुन्छ। कुनै पनि परिस्थिति प्रतिकुल नहुनु, आफूले चाहे अनुसारको योजना नबन्नु जस्ता कुरा नैं तनावका कारण हुन्। यस्तो नभएको भए, मैले यस्तो गर्न पाएको भए आदि आदि घटना र परिस्थिति प्रति चित्त नबुझ्नु तनावका कारण हुन्।

भविष्यको चिन्ता र आशंका भविष्यमा मलाई नोकरी मिल्दैन कि ? कोरोना, भोकमरी, मूल्यवृद्धिले आर्थिक सङ्कट आइलाग्ने हो कि ? यस्तै यस्तै आशंकाले मानसिक तनाव जन्मिन्छ। तनावका कारण छन् भने तनावरहित हुने उपाय पनि छन्। यस्ता तनावबाट मुक्ति पाउने उपाय हो तथाता भाव, जो भयो सो भयो, यसमा मेरो अरु हात छैन। 

मैले गर्न सक्ने अरु उपाय छैन, मैले सजगता अपनाएर सक्ने भनेको स्वीकार गर्नु हो। ओशो सिद्धार्थ बताउनुहुन्छ केहि सूत्रलाई आत्मसात गर्दै स्व-पहिचान सहित जीवन जिउने हो भने सङ्कटको त्रास र असहजताबाट सजिलै मुक्ति मिल्नेछI

चुनौती स्वीकार गर्ने

जीवनको आधार कर्म हो र स्व-पहिचान हो। जीवनमा कर्म गर्दै जाँदा, आफ्नो पहिचानमा बाँच्ने कोशिस गर्दैगर्दा पनि अनेक चुनौतीहरू आउन सक्छन्। ति चुनौतीप्रति गुनासो नगरी सहर्ष स्वीकार्दै आफ्नो मार्गमा अगाडी बढ्न प्रयास गर्नुको बाहेक अरू उपाय छैन। त्यो बुद्धको जीवनमा होस् या बुद्धुको जीवनमा समान छ।

घामपानीबाट निखारिएको अन्नबाली, चोटपटकबाट गुज्रिएको बाल्यकाल जस्तै जीवनका आरोह, अवरोह, अनेकौं प्रकोप र संक्रमण, सफलता, असफलता, अरुबाट पाउने प्रशंसा, घृणा, अनुकुल, प्रतिकुल परिस्थितिलाई स्वीकार्दै आफ्नो कर्ममा लगनशील बन्नु र आफू हुनुको बोधलाई नभुल्नु नै तनाव मुक्तिको एउटा अचुक उपाय हो।

चुनौती पनि सधैं कायम रहँदैन एकदिन यो बितेरै जानेछ। हामी धैर्य हुनु जरूरी छ। यस्तो अवस्थामा अरू कस्तो छ जान्न खोज्नु र त्यसमै समय बिताउनु संसार हो भने, आफू कस्तो छु जान्ने कोशिस गर्नु अध्यात्म हो। आजसम्म अरूको बारेमा थाहा पाएर जीवनलाई धन्य मान्नेहरू भेटिएको छैन। जसले आफैलाई जान्यो, बोधगम्य बन्यो उसकै जीवन आनन्दित, प्रफुल्लित र शान्तिपूर्णरूपमा बितेको हुन्छ। अहिलेको बन्दाबन्दीको समय केवल चुनौतीलाई स्विकार्नु, आफैंमा सजग र सुरक्षित रहनु बाहेक विकल्प छैन।

आफ्नो तर्फबाट पहल गर्ने

आपतकालीन् अवस्था आइपर्नु स्वाभाविक हो तर मनले हामीलाई अत्याईदिन्छ। यस्तो अवस्थामा आत्तिनु भन्दा आफ्नो तर्फबाट के गर्न सकिन्छ पहल गर्नु बुद्धिमत्तापूर्ण हुनेछ। मानसिकरूपमा जे परेपनि आफूलाई तयार पार्न सक्नुको विकल्प छैन।

परोपकारका काम हुन् या आफूले मान्नुपर्ने सुरक्षा, सरसफाई, अनुशासन र नियमको पालना, आफूले जिम्मेवारी बहन गर्ने, सबैलाई मिलाउने पहल गर्नु तनावरहित जीवन जिउन खोज्ने व्यक्तिको उच्च गुण हो। छरछिमेक जहाँपनि कसैलाई आपत परेको छ, तुरुन्त सेवा दिनुपर्नेछ, तुरुन्तै केहि पहल गरिहाल्नुपर्ने छ भने अरूको मुख नताकी आफैंले अग्रसर भएर सेवा गर्दा आनन्दको अनुभूति हुन्छ। कसैलाई देखाउनको लागि नभई आफ्नो स्वान्त सुखायको लागि कहाँ, के गर्न सकिन्छ आफूले पहल गर्नु प्रेमपूर्ण जीवन बाँच्ने कला हो।

अहोभावमा बाँच्ने

आफूले पाएका चिज, सफलता र उपलब्धि गन्नु होस। समस्यालाई मात्र होइनI जीवनमा जे चिज प्राप्त भएको छ सारा अस्तित्वबाट त्यसप्रति धन्यवादको भावले बाँच्न सक्नु अहोभावको भाव हो। धन्यवाद भन्दा माथिल्लो स्थिति हो अहोभाव।

आज कोरोना भाइरसले संसार आक्रान्त बनाईरहँदासम्म हामी स्वस्थ छौँ। सुरक्षित छौँ। यो जस्तो ठूलो प्राप्ति अरू के हुन सक्छ ? मनले त सधैँ गुनासो मै लैजान्छI यस्तो अवस्थामा गुनासो गर्न छोडेर, हामीसँग भएका चिजहरूप्रति सन्तुष्ट हुन सक्नुपर्छ।

कसले हामीलाई के गरेन, के दिएन सजिलै गुनासो गरेर, नगरेका कुराहरू एक-एक गर्दै जीवनपर्यन्त भुल्न सकिन्न भन्दै याद गर्दछ मानिस। तर जीवनमा आफ्नो परिवारबाट, कार्यालय, साथीभाइ, इष्टमित्र, गुरुहरु जो सुकैबाट होस् आफूलाई के के चिज प्राप्त भएको छ त्यसको मूल्य राख्दैन। बिना मूल्य प्रकृतिले उपलब्ध गराएका चिजहरूप्रति स्मरण गर्दै अहोभाव व्यक्त गर्ने कला भुलिरहेको छ।

नदेखिने, नजानिने, नचिनेका व्यक्तिबाट समेत अनगिन्ती कुराहरू हाम्रो जीवनलाई सहज बनाउनको लागि कयौं आयामबाट प्राप्त भईरहेका छन् तर हामीलाई रत्तिभर ख्याल छैन। भएको र पाएको कुराप्रति अहोभाव व्यक्त गर्न नसक्नु नै तनावग्रस्त जीवन बाँच्नुको कारण हो।

प्रतिकूलतालाई स्वीकार गर्ने

कोभिड-१९ को भाइरस, संसारभरको आतंक अनि हाम्रो देशमा पनि दैनिक गर्दै संक्रमित थपिँदै गएको अवस्थाले के हुनेहोला अझैपनि भन्ने त्रासमा छौँ हामी। जीवनमा मैले चाहेको जस्तो मात्र होस् यो सम्भव छैन। आफूले अनुकूल चाहदा चाहदै पनि प्रतिकूलता आयो भने त्यसलाई स्वीकार्नुको विकल्प हुँदैन।

मेरोलागि प्रतिकूलता हुनुहुँदैन। मलाई नै किन प्रतिकूलता, मलाई नै किन दु:ख, मलाई नै किन असफलता जस्ता प्रश्न र भावले सृजनशील हुन र एउटा काम बिग्रे अर्को विकल्प खोज्ने शक्ति नै ह्रास भएर जान्छ। प्रतिकूलतालाई रोक्न सकिन्न बरू आफू जागृत हुन सकिन्छ। त्यसैले प्रतिकूलतालाई स्वीकार गर्दै, जागृत हुने व्यक्ति तनावमा जानु पर्दैन।

आत्मबोधका साथ बाँच्ने

बन्दाबन्दी अघिसम्म हामी बाहिरै भौतारिएका थियौँ। अहिले पनि चेतनाको स्तरबाट खासै परिवर्तन आयो कि आएन आफैंले जान्नुपर्नेछ। हामीलाई सबै कुराको होश छ। याद छ तर स्वयंको विश्मरण छ।  जति कुरा अरुको जान्न खोज्छौं त्यति आफ्नो बारेमा जान्न र बुझ्न खोजे कस्तो परिणाम आउने थियो होला ?

संसारको चाहना, सफलता र संसारिक बोधमा बाँचिरहेका थियौँI आफूलाई जान्ने र आफैंमा एक्लै रमाउने न त फुर्सद थियो, न त आत्मबोध नै। संसार बाहिर छ, मेरो आत्मबोध भित्र छ। म संसारको चाहनामा हिंड्ने कि मेरो अन्तरआत्माले के भन्छ त्यो सुन्ने भन्ने बोध मानिसमा जागृत हुन सकेको थिएन।

हामी अरुको इशारामा मात्र चल्ने, अरुलाई देखाउनको लागि मात्र बाँच्ने प्राणी होइनौं । म को हूँ ? एउटा आन्तरिक रहस्य जो सधैं सबैको प्रश्न बनेर रहेको छ र त्यसको जवाफ आफैंसँग छ। त्यो समय अहिले हाम्रो सामु आएको छI

मन धेरै बाठो हुन खोज्छ उसले उच्च देखि निच सम्मका विशेषण जोडेर जवाफ दिने कोसिस गर्छ। मष्तिस्कबाट जति शक्ति लगाए पनि, जति अनुसन्धान गरेपनि यो रहस्य उजागर हुनेवाला छैन। किनकी यसको जवाफ त्यति छिटो आउँदैन, म यो हूँ भन्ने हतारमा जवाफ आयो भने त्यो अपूर्ण हुन्छ।

बाहिरी ज्ञान र मनस्थितिबाट आएको जवाफले पनि पूर्णता दिंदैन त्यसैले त कयौं जीवन बितिसक्दा पनि यो रहस्यले छोडेको छैन। म को हूँ को जवाफ एउटा अस्तित्वगत अनुभूति बनेर आएको क्षण मात्र हामीले आफैंलाई जान्न सक्दछौं। आत्मबोधका साथ बाँच्ने व्यक्ति कहिल्यै तनावग्रस्त हुनुपर्दैन। बन्दाबन्दीको अवसरलाई आत्मबोधमा बाँच्ने कलामा रूपान्तरण गरौँI

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.