|

एजेन्सी : अष्ट्रेलियाली क्रिकेट टीमका खेलाडीहरुले २ महिनापछि प्रशिक्षण सुरु गरेका छन्। इंग्ल्यान्ड र श्रीलंकापछि अष्ट्रेलियाली खेलाडीहरु पनि प्रशिक्षणमा फर्किएका हुन् । सिड्नीको ओलम्पिक पार्कमा स्टीभ स्मिथ, डेविड वार्नरका अलावा तिब्र गतिका बलर मिचेल स्टार्कले अभ्यास गरे। प्रशिक्षणका क्रममा समर्थकहरुको प्रवेशमा रोक लगाईएको  छ।

प्रशिक्षणलाई लिएर स्मिथले भनेका छन्-‘मैले दौड, जिमबाट आफूलाई बलियो बनाएर राखेको छु।’ उनले लकडाउनको आफूले राम्रो फाइदा उठाएको र शारीरिक एवं मानसिक फिटनेशमा ध्यान दिएको बताएका छन्। कोरोना संकटका कारण क्रिकेट अष्ट्रेलिया (सिए) को आर्थिक अवस्था बिग्रिएको छ।  सिएले २ सय भन्दा बढी कर्मचारीहरुलाई हटाएको छ भने छिट्ठै अष्ट्रेलियाली क्रिकेट टिमका सहयोगी कर्मचारी पनि कटौती गर्ने तयारी गरेको छ।

क्रिकेट अष्ट्रेलियाले आफ्नो अन्तराष्ट्रिय सिजनको घोषणा गरिसकेको छ। जसअनुसार आगामी अगस्ट ९ देखि अष्ट्रेलियामा क्रिकेट सुरु हुनेछ। पाहुना टोली जिम्बाबेविरुद्ध टी-ट्वेन्टी सिरीजबाट अष्ट्रेलियाली क्रिकेटको सुरुवात हुनेछ। तयसपछि अफगानिस्तान र भारतविरुद्ध टी-ट्वेन्टी क्रिकेट खेल्नेछ। अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा टी-ट्वेन्टी विश्वकप पनि तय गरिएको छ तर कोरोना संकटका कारण विश्वकप हुने सम्भावना भने कम छ। 

इंग्ल्यान्डमा पनि प्रशिक्षण शुरु

इंग्ल्यान्डमा पनि क्रिकेटहरुले प्रशिक्षण सुरु गरेको छन्। इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ईसिबीले ५५ जना खेलाडीलाई आउटडोर अभ्यासको अनुमति दिएको   छ। खेलाडीहरुलाई जुलाईमा वेस्टइन्डिज र पाकिस्तानविरुद्ध प्रस्तावित टेस्ट सिरीजका लागि तयारी अवस्थामा राख्न बोर्डले खेलाडीहरुलाई अभ्यासको अनुमति दिएको हो।

ईसीबिले जुलाई ८ देखि वेस्ट इन्डिजविरुद्ध ३ खेलको टेस्ट सिरीज खेल्ने तयारी गरेको छ। त्यसपछि उसले पाकिस्तान, अष्ट्रेलिया र आयरल्यान्डविरुद्ध पनि सिरीज खेल्नेछ। ति सबै प्रतियोगिताहरु बायो सिक्योर अर्थात संक्रमणमुक्त स्थानमा खेलाइने ईसिबीले जनाएको छ। इंग्ल्यान्डको घरेलू क्रिकेट सिजन अगस्ट १ देखि सुरु हुनेछ। 

श्रीलंकाली क्रिकेट पनि फर्कियाे

श्रीलंकाली क्रिकेट टीमले पनि अभ्यास सुरु गरेको छ। श्रीलंका क्रिकेट बोर्डले १३ जना खेलाडीहरुलाई १२ दिनसम्मका लागि प्रशिक्षणको अनुमति दिएको छ। प्रशिक्षणका क्रममा खेलाडीहरुले सामाजिक दुरीसहित कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि आवश्यक सबै गाईडलाईनको पालना गर्नुपर्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.