|

पर्वत : ‘टाइगर मस्क्युटो’ को नामले पनि चिनिने एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सर्ने डेंगु पर्वतमा पनि देखापरेको छ। जिल्लाको फलेवास नगरपालिका ५ खानीगाउँकी ६ वर्षीया बालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले बताए।

ती बालिकाको अवस्था सामान्य रहेको र उनलाई अस्पतालमा भर्ना गरिएको पनि डा. देवकोटाले बताए। छिमेकी जिल्ला म्याग्दीमा डेंगुबाट संक्रमितको संख्या बढिरहेको बेलामा पर्वतमा पनि यसको संक्रमण पुष्टि भएको हो। 

चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा ती बालिकाको उपचार भइरहेको तथा हरेक दिन रिपोर्ट तयार पारेर अध्ययन गर्ने र सोही अनुसार उनको स्वास्थ्यलाई बलियो पार्ने प्रयास गरिरहेको पनि डा. देवकोटा बताउँछन्।

कसरी सर्छ ? 

एडिज जातको लामखुट्टेले राति र दिउँसोको समयमा खासै नटोक्ने भएका कारण साँझ र बिहानमा बढी जोखिमपूर्ण हुने चिकित्सक बताउँछन्। डेंगु सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेमा लामखुट्टेले चुसेको रगतको माध्यमबाट भाइरस आदानप्रदान भई डेंगु सर्ने डा. देवकोटा बताउँछन्। 

कस्ता हुन्छन् लक्षण ?

सङ्क्रमण भएका व्यक्तिमा सामान्य ज्वरो आउने, जिउ तथा हातखुट्टा दुख्ने, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुने हुँदा यस्ता लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने डा. देवकोटाको सुझाव छ।

सङ्क्रमित व्यक्तिमा ज्वरोको चरणपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने चिकित्सक बताउँछन्। शरीरमा प्लेटलेटको सङ्ख्या कम भएमा रक्तनलीबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुने सक्ने भएकाले बेलामै उपचार गराउनुपर्ने डा. देवकोटाले बताए।

कसरी बच्न सकिएला ?

कोभिड १९ जस्तै डेंगु पनि एक प्रकारको भाइरस भएकोले यसलाई ‘भाइरल डिजिज’ का रूपमा लिने गरिन्छ। भाइरल डिजिजहरूको सङ्क्रमण हुने दर तीव्र हुने भएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको चिकित्सकहरूले बताउँदै आएका छन्। 

यो जातको लामखुट्टेले फोहोर पानीभन्दा सफामै बस्न बढी मन पराउने भएका कारण घर वरिपरि जम्मा भएको पानीलाई सङ्लो देख्दैमा ठिक छ भनेर त्यसै छाड्न नहुने उनको भनाइ छ। 

यस्ता लामखुट्टे बस्ने र फूल पार्ने ठाउँहरु पानी राखिएका गाग्री वा गमला, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, नरिवलका खोस्टा, साना खाल्डालगायत हुन्।

यस्ता बस्तुहरूमा केही दिनदेखि पानी जम्मा भएर बसेको भएमा डेंगु जोखिम हुने भएकोले समय समयमा पानी फेर्ने वा ढाकेर राख्ने तथा पानी जम्मा गरेका भाँडा घरभित्र वा बाहिर नजिकै पनि राख्न नहुने डा. देवकोटाले सुझाए।

यस्तै, पूरै शरीर ढाक्ने गरी लामा बाहुला भएका कपडा, मोजा, टोपीलगायत कपडा लगाउने, शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने वा लामखुट्टे भगाउने विद्युतीय साधन प्रयोग गर्ने, घरका झ्याल ढोका बन्द गर्ने जाली लगाउने र पर्दा हाल्नेलगायत उपाय अपनाएर पनि यसबाट बच्न सकिन्छ।

एक पटक डेंगु सङ्क्रमण भइसकेको व्यक्ति भएमा अर्को पटक पनि सङ्क्रमण हुने जोखिम उच्च हुने भएकोले त्यस्ता व्यक्ति लामखुट्टेबाट जोगिनु झनै अपरिहार्य भएको डा. देवकोटाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.