म्याग्दी : हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनीमा सोमबार पनि एक जना डेंगुका बिरामी भेटिएका छन्। दुई महिनायता बेनी अस्पतालमा मात्रै १३ जना डेंगुका बिरामी भेटिएका अस्पतालले जनाएको छ।
सोमबार बेनी अस्पताल आएकी पर्वत जलजला गाउँपालिका ४ की ७८ वर्षीया महिलामा डेंगु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए।
उनका अनुसार ती महिलामा उच्च ज्वरो, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो। वृद्धालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ।यो सिजनमा म्याग्दीमा १२ र पर्वतमा १ गरी १३ जनामा डेंगु पोजेटिभ देखिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।
अहिलेसम्म ९ जना निको भएर घर फर्किएका छन् भने चार जना उपचाररत छन्। चारमध्ये एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ। यसअघि बेनी ३ महिला र ४ पुरुष, मंगला गाउँपालिकामा २ पुरुष र २ महिला तथा अन्नपूर्ण गाउँपालिकामा १ जना महिलामा डेंगु देखिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।