|

डोल्पा : सिम्रिक एयरको हेलिकप्टरबाट सुकुटी बरामद भएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय डोल्पाले तीन सदस्यीय छानविन समिति गठन गरेको छ।

घटनामा जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक र हवल्दार मुछिएपछि प्रहरी निरीक्षक हस्तबहादुर सुनारको संयोजकत्वमा समिति गठन गरिएको हो। सो घटनामा ड्युटीमा खटिएका प्रहरीबाट के कसरी, कसको लापरवाहीले सुकुटी दुनै आइपुग्यो, सो सामानको जिम्मेवार व्यक्ति को हो भन्ने बिषयमा संवेदनशील भएर समितिले अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्ति उल्लेख छ।

घटनाको विषयमा रुपमा आधिकारीक रुपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरिसकेकाले प्रहरी हरेक किसिमको सहयोग गर्न प्रतिवद्ध रहेको र मिडियाकर्मीलाई पनि सघाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहातका सम्पूर्ण कर्मचारीहरु संरक्षित वन्यजन्तुको चोरी, शिकारी, तस्करीविरुद्ध र निकुञ्ज क्षेत्रको संरक्षण सम्बद्र्धनमा सदैव कृयाशिल रहेको रहेको समेत बताइएको छ।

गत बिहिवार शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने साल्दाङ्गबाट यात्रु लिएर दुनै फर्किएको सिम्रिक एयरको हेलिकप्टर सेना र निकुञ्जका कर्मचारीद्वारा चेकजाँच गर्दा आधा किलो सुकुटी फेला परेको थियो। सुकुटी बरामद घटनामा विभिन्न मिडियामा प्रकाशित समाचारमा प्रहरीको पनि नाम जोडिएकाले सत्यतथ्य छानविनका तीन सदस्यीय छानविन समिति गठन गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए।

‘त्यो दिन प्रहरी इन्सपेक्टर पनि हेलिकप्टरमा साल्दाङ्ग गएका थिए,साल्दाङ्गबाट हवल्दारले सुकुटी हाले भनेर पाइलटले आरोप लगाएका छन्,’ उनले भने, ‘यसका विषयमा हाम्रो तर्फबाट पनि अनुसन्धान सुरु गर्छौं।’

बरामत गरिएको सुकुटी संरक्षित वन्यजन्तुको जस्तो देखिए पनि ल्याब परीक्षणबाट आधिकारी जानकारी आउने निकुञ्जले जनाएको छ। घटनाको विषयमा पाइलटको भिडियो वयान लिइसकेको बताउँदै लिखित वयानका लागि बोलाएको खण्डमा उपस्थित हुने गरि छोडिएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.