|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा रहेकाहरु अनसनमा उत्रिएका छन्। क्वारेन्टाइनमा खाना, बस्नजस्ता अत्यावश्यक वस्तुको व्यवस्था गर्न नभएको भन्दै उनीहरु अनसन बसेका हुन्।

क्वारेन्टाइनमा सुत्नका लागि खाट, तातो पानी र राम्रो खाना समेत नदिएको उनीहरुको आरोप छ। यस्तै, स्वास्थ्यकर्मीले चेकजाँच नगरेको उनीहरुले गुनासो गरेका छन्।

उक्त क्वारेन्टाइनमा ५० जना छन्। लकडाउनका कारण समस्यामा परेपछि भारतको विभिन्न शहरबाट फरक फरक मितिमा घर आएकाहरु क्वारेन्टाइनमा बसेका हुन्। कोठा अभावका कारण दर्जनौं व्यक्ति धर्मशालाको ‘प्यासेज’मा बस्न बाध्य छन्।

क्वारेन्टाइनमा बसेका जनकपुरधाम उपमहानगर–२१ कुर्थाका राजेश्वर साहले बस्न खाट र पानीको व्यवस्था समेत नभएको बताए। भारतबाट पाँच दिनअघि सीमा पार गरेपछि क्वारेन्टाइनमा बसेका उनले तीन दिनदेखि नुहाउन नपाएको सुनाए। 

‘कतिपय १५ दिनदेखि क्वारेन्टाइनमा बसेका छन्,’ उनले भने, ‘तर घर जान नदिनुका साथै खाना र बस्ने व्यवस्था समेत राम्रो नभएको भन्दै उनीहरु अनसन गरेका छन्।’ क्वारेन्टाइनमा सामाजिक दूरी समेत कायम गर्न नसकिएको उनको गुनासो छ। 

क्वारेन्टाइनमा बसेकाहरुले आन्दोलनको कारण फरक फरक बताएका छन्। डोम समुदायको व्यक्तिले खाना ल्याएर दिएपछि आन्दोलन गरिरहेको क्वारेन्टाइनमै बसेका एक युवकले बताए। ‘मेरा लागि कोही सानो र ठूलो छैन,’ उनले भने, ‘तर केही व्यक्ति सानो जातका व्यक्ति खाना ल्याउने गरेको भनेर खान मानेका छैन।’

क्वारेन्टाइनमा रहेकाहरु सोमबार विहानदेखि अनसनमा रहेका वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिए। नकारात्मक सोचका व्यक्तिहरुले फोन गरी खाना राम्रो भएन सुख सुविधाजनक बसाइ भएन भनेर आन्दोलन गर्न लगाएको उनको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.