समाज

बन्यो बाजेको देवताथान 'लिब्जु' को गुरु योजना

पर्यटकीय दृष्टिले विकास गरिने

जेठ २४, २०७७

    काठमाडौंः ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। केत्तुके, उँबु, र वाक्सा गाउँको शिरमा अवस्थित डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगललै जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुको पवित्र देवता लिब्जु उपो सामाथान(लिब्जु बाजेको देवताथान) रहेको छ। यी सामाथानलाई अझै व्यवस्थित बनाउनको लागि वाम्बुले राई समाज, नेपाल(वाम्रास)ले बृहत्तर गुरु योजना बनाएको छ।

    वाम्बुले राई समाज, नेपाल(वाम्रास) केन्द्रीय कार्यसमितिका अध्यक्ष गजुरधन राईले लिब्जु स्थललाई एक प्राकृतिक पर्यावरणीयमैत्री सांस्कृतिक,धार्मिक र पर्यटकीय स्थलको रुपमा संरक्षण गर्नको लागि बृहत्तर गुरु योजना बनाएको बताए। ‘लिब्जु स्थल किरात वाम्बुले राईहरुको पवित्र धाम हो,’उनले भने,‘सांस्कृतिक तथा धार्मिक आस्था, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई दशकौँ अघि देखी अध्ययन गरी गुरुयोजना तयार गरेका छौँ। लिब्जु डाँडालाई संरक्षण र सम्बद्धन गर्न हामी लागिपरेका छौँ। हाम्रो दायित्व हो।’ 

    लिब्जु डाँडाको गुरुयोजना

    कस्तो बन्ने छ लिब्जु डाँडा?

    गुरु योजना अनुसार लिब्जु डाडाँमा रहेको लिब्जु उपो सामाथान ढुंगा माटोबाट गोलाकार प्राकृतिक रुपमा निर्माण गरिने छ। सो पार्खालमा भित्री र बाहिरी दुवै भागमा खोपा निर्माण गरी भित्री भागमा धुप बाल्ने र बाहिरी भागमा चराहरुको गुड बनाइ बस्ने व्यवस्था मिलाईने छ। लिब्जु उपोथानको तल्लो भुभाग या अन्य उपयुक्त स्थानमा एक प्राकृतिक पोखरी निर्माण गरिने छ।

    उत्तर पश्चिमको मोहोडामा तल लिब्जु सडकदेखी माथि सम्म आकर्षक ढुंगा र माटोको ६ फिट चौडा प्राकृतिक सिँढीहरु निर्माण गरिने छ। सिँढीका रेलिङ पनि चप्लेटी ढुँगाबाटै निर्माण गरिने छ। त्यस्तैगरी चढ्ने सिँढीमा विश्राम गर्ने चौतारा बनाइने छ। लिब्जु प्रवेश गर्ने ठाउँमा ढुंगाको गेट बनाइने छ। लिब्जुको फेदमा पैदल रिङरोड बनाइने छ। 

    वाम्रासका महासचिव जीवन हाताचो राईले युनेस्कोमा समेत सुचिकृत भएको लिब्जुको धार्मिक महत्व र विषेशतालाई संरक्षण,सम्बद्र्धन,प्रर्वद्धन र विकास गर्ने लक्ष्य रहेको बताउँदै छिट्टै गुरु योजनाको काम थाल्ने जानकारी दिए। उनले भने,‘वाम्बुले राईको ऐतिहासिक धार्मिक महत्व बोकेको स्थल लिब्जु डाडाँलाई निकट भविष्यमै  पर्यटकीय गन्तब्य बनाउने छौँ।’ वाम्बुले राईहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या दाजुभाइ देवताका रुपमा पुकार्ने गर्दछन्। भुम्जु भने दुधकोसी पारि खोटाङको डिकुवा, च्यास्मिटार र बाहुनीडाँडा ठाउँको शिरको अग्लो चुचुरो हो। सबैभन्दा ठूला देवता भने लिब्जुलाई मान्ने चलन छ।

    १९ सय ५७ मिटर अग्लो लिब्जु डाडाँको मन्दिरमा कुखुरा, मालेगोरु लगायत वैशाख पुर्णेको अवसर पारेर छोडिन्छ। मन्दिरमा दर्शन गर्दा घरमा शान्ति मिल्ने, स्वस्थ हुने र इच्छाएका सबै कुरा पुरा हुने जनविश्वास छ। वाम्बुले राईहरुको महान चाड ढ्वाङकुमो (जनै पूर्णिमा)मा बर्खामा पाकेका अन्नबालीको जाँड, मकै, जिर्मा, विभिन्न परिकार आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई चढाउने प्रचलन छ। 

    लिब्जु डाडाँको किँबदन्ती
    किंवदन्ती अनुसार बाजेहरुले ती जंगलमा शिकार ढुक्न ठूलो रुख चुनेछन्। त्यसमा चढ्न पहिले अखटा काट्दा सुरु गर्दा त्यो रुखको भित्रबाट एक प्रकारको आवाज आएछ–‘ए मेरो घुँडा काट्छौं है’ भनेर। बाजेहरुले त्यो कुरा वास्ता नगरी फेरि अर्को अखेटा काट्न सुरु गरेछन्। फेरि आवाज आयो, ‘ए मेरो मुटु काट्छौ है’ भनेर। त्यसलाई पनि वास्तै नगरी तेस्रो अखेटा काट्न सुरु गरेछन्। फेरी पनि ठूलो स्वरमा भनेछ ‘ए मेरो घाँटी काट्छौं है’ भनेर। यस्तो पटकपटक आवाजले बाजेहरु छक्क परेछन्। त्यसपछि पहिलो पटक काटेको अखटामा गहिरो गरी काटेछन्।

    रुखभित्र धोद्रो भेट्टाएछन्। धोद्रोमा मान्छे उभिएको खुट्टा देखेछन्। पूरा काटेर निकाल्दा नौ–दस वर्षको केटो फेला पारेछन्। गाउँमा ल्याएर पालेछन। एकदिन त्यहाँ अपरिचित बूढो मान्छे घुम्दै आएछ। त्यही बुढोलाई जंगलमा भेट्टाएको केटो दिई पठाएछन्। त्यो केटाले गाउँ छाडेको दिनदेखि १२ वर्षसम्म गाउँमा पानी परेन। गाउँलेहरु जिउने विभिन्न उपायको खोजीमा लागेछन्। अन्ततः के त्यो केटा भगवान त होइन रु अरुलाई दिई पठायौं भनेर आत्मालोचना गर्दै लिन जाने निधो गरेछन्।

    उनीहरु बूढोमान्छे कहाँ पुगेर गाउँको सबै अप्रिय घटनाबारे बताए छन्। त्यसपछि सात थुम्से खाक्सी छिपेको दाना लगेर बुझाएर केटालाई लिएर गाउँ फर्केछन्। जब त्यो केटोले त्यस गाउँमा खुट्टामात्र टेक्यो, हरियो–परियोले ढकमक्क छाएको थियो रे। त्यसपछि त्यस व्यक्तिलाई ‘लिब्जु’ भनेर नामाकरण गरेछन्। लिब्जु भन्नाले यस क्षेत्रको राईहरुको भाषामा युग फर्काउनु हो। किनभने १२ वर्षसम्म सुख्खा लागेको र जब लिब्जुले गाउँ टेक्यो सम्पूर्ण युग फर्केको थियो। लिब्जुलाई राई भाषामा लिब्जु उपो (बाजे) पनि भनिन्छ।

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]