|

जनकपुरधाम :  प्रदेश २ मा मंगलबार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। संक्रमितमध्ये दर्जनौं बालबालिका छन्।

पछिल्लो २४ घण्टामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सार्वजनिक गरेका हुन्। उनका अनुसार सबभन्दा बढी रौतहटमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्।

यस्तै सर्लाहीमा २१ जना, सिरहामा १७ जना, धनुषामा ४ जना, महोत्तरीमा २ जना कोरोना संक्रमित भेटेका छन्। सप्तरी र बारामा भने १\१ जना संक्रमित थपिएका मन्त्रालयका सचिव घिमिरेले जानकारी दिए। उनले संक्रमित मध्ये करिब ३० देखि प्रतिशत १८ वर्ष मुनिका रहेको बताए।

रौतहटको दुर्गाभगवती क्‍वारेन्टाइनका ५ जना, राजपुर क्‍वारेन्टाइनका ११ जना, गोर नपा ३ क्‍वारेन्टाइनका ५ जना संक्रमित १८ वर्षमुनिका छन्। यस्तै रौतहटकै यमुनामाई गाउपालिकाको क्‍वारेन्टाइनमा रहेकी ८ वर्षकी बालिकामा समेत कोरोना संक्रमण देखिएको छ।

सचिव घिमिरेका अनुसार सर्लाहीको ब्रहमपुरी क्‍वारेन्टाइनमा पनि १८ वर्ष मुनिका ५ बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। बाराको देवतालका एक बालक पनि कोरोना भाइरसको सिकार भएका छन्। सिरहाका १७ संक्रमित मध्ये पनि दुई बालक छन्।

संक्रमित सबै फरक फरक मितिमा भारतको विभिन्न शहरबाट फर्केकाहरु हुन्। कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशन वार्डमा लग्ने सचिव घिमिरेले बताए। उनले कतिपयलाई आइसोलेशनमा भर्ना गरिसकेको समेत दावी गरे।

सोमवार दिउसो ४ बजेसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ रहेको थियो। मंगलवार १२० जना थपिएपछि संक्रमितको संख्या ८१५ पुगेको छ। जसमध्ये १०४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.