आम्दानी ४ करोड तर खर्च भने १४ करोड रुपैयाँ

|

काठमाडौं : एकजना मालपोत अधिकृतले १० करोडभन्दा धेरै अवैध सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालविरुद्ध १० करोड २७ लाख गैरकानूनी सम्पत्ति आर्जन आर्जन गरेको दाबी गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार मालपोत कार्यालयहरुमा कार्यरत रहँदा जग्गा दर्ता लगायतका गैरकानुनी कार्यबाट उनले अकूत सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिएका छन्। 

करोडौं अकुत आर्जन गरेका उनी २०५४ सालसम्म अस्थायी शिक्षक थिए। त्यसपछि उनी २०५५ खरिदारबाट निजामति सेवामा छिरेका थिए। उनी हाल मालपोत अधिकृतमा बढुवा भइसकेका छन्। उनले खरिदारबाट अधिकृतसम्म फड्को मार्दा मालपोत कार्यालयहरु तनहुँ, कास्की, डिल्लीबजार काठमाण्डौ, पर्सासमेतमा काम गरेका थिए। उनी पछिल्लो पटक मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत छन्। 

सम्पत्ति लुकाउन साली र जेठान प्रयोग 

ढकालले सरकारी सेवामा प्रवेश गरेपछि रातारात अकूत सम्पत्ति जोडेर पनि आफ्नो नाममा राखेका थिएनन्। उनले साली नाता पर्ने एकजना महिलाको नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन्। आफ्नो नाममा सम्पत्ति नराखेका उनले आफू र आफ्नो परिवारका सदस्यहरुको नाममा पनि बैंक तथा वित्तीय संस्थाहरुका खाताबाट पनि कारोबार गरेको नदेखिएको कोइरालाले बताए। 

आफूले गैरकानुनी रुपमा आर्जित स्रोत खुलाउन नसक्ने अवैध आर्थिक कारोवारलाई लुकाउन हाल अष्ट्रेलियामा रहेका जेठान नाता पर्ने नवराज अर्यालको नाममा जनता बैंकमा खाता खोलेर कारोबार गरेको पाइएको छ। 

उक्त खाता खोलेकै दिन खाता सञ्‍चालकबाट खाता सञ्‍चालनको अनुमति ढकालले लिएका थिए। त्यसैबाट आफू अनुकूलका व्यक्तिहरु अन्यका नामबाट खातामा पैसा जम्मा गराएर त्यही खाताको रकमबाट आफूले किनेका जग्गाका धनी र विक्रेतालाई दिने गरेको खुलेको छ। त्यही खाताबाट ढकालले चार करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ कारोबार गरेको खुलेको छ।

ढकालले जग्गा कारोबारमा पनि अनेक प्रपञ्च गरेको अख्तियारले पत्ता लगाएको छ। एकै दिनअघि किनेको जग्गाको मूल्यमा करोडौं फरक पर्ने गरी आफ्नो नाममा पास गराएको पनि भेटिएको छ। ढकालले तनहुँमा रहँदा स्थानीय डेकबहादुर गुरुङ्गलाई प्रभावमा पारी उनी र श्रीमतीको नाममा दर्ता कायम रहेका जग्गा खरिद बिक्री कारोवार नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरेर खरिद बिक्री कारोवार देखाएको खुलेको छ।

उनले यसो गरेर ती जग्गा आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई उक्त जग्गाहरु डेकबहादुर र श्रीमती तथा डेकबहादुरका दिदी/ भिनाजु र बहिनीका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरेको भेटिएको छ। 

उनले त्यो गर्दा हुँदै नभएको खरिद बिक्री कारोवारमा एक लाख ९७ हजारको लगानीको केही दिन र महिनाको अन्तरालमै एक करोड ६८ लाख आम्दानी गरेको देखाई गलतरुपमा आयस्रोत बढाएको समेत अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए।

यति रहेछ सम्पत्ति

ढकालले सार्वजनिक सेवामा आएदेखि २०७६ फागुनसम्ममा आफू र श्रीमती सिर्जना अर्याल ढकालको नाममा घर जग्गा खरिदमा ४ करोड ५४ लाख १७ हजार २४४ रुपैयाँ खर्च गरेको भेटिएको छ। उनले घरका फर्निचर तथा फर्निसिङ एवं इलेक्ट्रोनिक उपकरणमा एक करोड एक लाख ५३ हजार ८१ रुपैयाँ लगानी गरेको भेटिएको छ।

त्यसैगरी पुँजीगत लाभ तथा आयकर ७ लाख ९० हजार एक सय ३० भेटिएको छ। विभिन्‍न बैंक तथा वित्तीय संस्थाका साधारण तथा संस्थापक शेयर खरिदमा एक करोड ११ लाख ४६ हजार ७०१ पाइएको छ। छोराछोरीको अध्ययनमा उनले १६ लाख रुपैयाँ लगानी गरेको पुष्टि भएको छ।

जीवन बीमा प्रिमियम शुल्कमा नौ लाख २४ हजार ६४० रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा ६४ लाख ६३ हजार ५११ रुपैयाँ, सवारी साधन खरिद तथा संचालन २८ लाख २२ हजार सात सय, सुन खरिदमा १७ हजार ३००, सरसापटी २० लाख कारोबार गरेको देखिएको छ। उनले ती सबै रकम जेठान नाताका नवराज अर्यालको नाममा बैंक खाता खोली त्यहीबाट कारोबार गरेको खुलेको छ।

उक्त खातमा  स्रोत नखुलेको मौज्दात रकमबाट ४ करोड २६ लाख ९९ हजार २९४, विविध शीर्षक तथा साथको नगदसमेत २ करोड २४ लाख २६ हजार ६८९ भेटिएको छ। त्यसैगरी निजी विदेश भ्रमणमा ९२ हजार ३०० खर्च गरेको पाइएको छ। बैंक खाताहरुमा अन्तिम मौज्दात रकम २ लाख ६८ हजार ९०८ भेटेर अख्तियार अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।

ढकालले हालसम्म १४ करोड ५३ लाख ८२ हजार चार सय ९८ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारले भेट्टाएको छ।  उनले २०७६ फागुनसम्ममा तलब एवम् भत्ताबाट ४९ लाख ४४ हजार १६० रुपैयाँ आम्दानी गरेको देखिएको छ। श्रीमतीको पारीश्रमिक वचत आय ७७ हजार ३६७। देखिएको छ भने ढकालको वैदेशिक वचत एक लाख रुपैयाँ देखिएको छ। 

कर्मचारी सञ्‍चय कोष तथा बैंकबाट लिएका कर्जा ६८ लाख९१ हजार ७५१, घर बिक्रीबाट एक करोड १५ लाख¸जग्गा बिक्रीबाट १ करोड ८ लाख ६७ हजार २ सय, शेयर बिक्रीबाट ६ लाख ९९ हजार २३३ सवारीसाधन बिक्रीबाट १२ लाख ९६ हजार र कृषिबाट १ लाख २७४ रुपैयाँसहित चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ आम्दानी गरेको देखिएको छ।

ढकालले वैध आम्दानीभन्दा १० करोड २७ लाख ५८ हजार ४६१ रुपैयाँ भन्दाबढी खर्च गरेको रकमहरुको स्रोत खुल्न नसकेको कोइरालाले बताए। १० करोडभन्दा बढी अकूत सम्पत्ति आर्जन गरेको देखिएकाले मुद्दा चलाइएको हो।

ढकाललाई बिगो १० करोड २७ लाख ५८ हजार ४६१ कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा चलाइएको हो। ढकालकी श्रीमती सिर्जना अर्याल र जेठान नाताका नवराज अर्यालसमेतलाई प्रतिवादी कायम गरी मंगलबार विशेष अदालतमा आरोप पत्र दर्ता गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.