छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने बचन

|

काठमाडौं : गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा 'बादल'ले रुकुममा भएको हत्याकाण्डलाई अमेरिकाको घटनासँग जोडेका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो भनेका हुन्।

संसारको सबैभन्दा बढी लोकतान्त्रिक र समृद्ध मुलुकमा समेत जातीय विभेदका घटनाहरु भइरहेको बताउँदै थापाले नेपालमा पनि कानूनी र राजनीतिक रुपमा विभेद अन्त्य भए पनि व्यवहारिक विभेद रहेको स्वीकारे।

'यसलाई सामाजिक प्रक्रियाको स्वभाविक प्रक्रियाको रुपमा मानौँ । संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना घटेको छ', उनले भने, 'केही समानताहरु छन्। तर त्यहाँ राज्यबाटै विभेद भएको छ। कानुनहरु त्यहाँ पनि छन् कार्यान्वयनमा फितलो छ।’

समितिमा प्रहरी प्रमुख ज्ञवाली र गृह सचिव न्यौपानेसहित उपस्थित भएका गृहमन्त्री थापाले घटनाको निस्पक्ष छानविनसहित दोषीलाई कारबाही गर्ने प्रतिवद्धता  गरे।

बैठकमा सांसदहरुले दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्न माग गरेका थिए। तर विज्ञहरुले भने व्यवसायीक निकायबाटै छानविन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकले गृह मन्त्रालयलाई दलित समुदायमाथिको विभेदको अनुसन्धान गर्न छुट्टै प्रहरी सेल गठन गर्न पनि निर्देशन दिएको छ। 

समितिको बैठकले गरेका निर्देशनहरु सुनाउँदै समितिका सभापति कृष्ण भक्त पोख्रेलले नेपाल प्रहरीभित्र महिला बालबालिका सेल भएजस्तै दलितको पनि अलग्गै सेल बनाएर यसलाई संवेदनशील ढंगबाट अध्ययन अनुसन्धान र दोषीलाई कडा कारबाही गर्न निर्देशन दिइएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.