अनुसन्धान बिग्रिन दिँदैनौं, दोषीलाई कारवाही हुन्छ

|

काठमाडौं : महान्यायाधीवक्ता अग्‍निप्रसाद खरेलले रुकुममा भएको हत्याकाण्ड मिडियाले समाचार लेखे जस्तो नभएको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले आफूले युट्युबर र समाचार अनलाइनहरुलाई लगातार फलो गरिरहेको बताए। 'मैले युट्युबरलाई हरेक बेलुका फलो गरेको छु, अनलाइन पनि फलो गरिरहेको छु', उनले भने, 'उनीहरुले जे लेखिरहेका छन् ती कुरा देखिएका छैनन्। 

उनले मिडियाले लेखिरहेका समाचारमा आए जस्ता कुरा प्रहरी र गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले नभेटेको पनि उनले जिकिर गरे। 'मिडियामा आएका कतिपय कुरा अनुसन्धानका क्रममा देखिएनन्। समाचार लेख्नुअघि दसपटक सोच्नुपर्थ्यो', उनले भने, 'अहिले मिडियामा कतिपय चिजहरु जे आइरहेका छन्, ती अनुसन्धानमा देखिएका छैनन्।'

पत्रकारले लेखिरहेका समाचारमा उल्लेख गरिएका कुरा प्रमाणले पुष्टि गर्न नसक्ने अवस्था रहेको उनले जिकिर गरे। 'समाचारमा जे कुरा देखिरहेका छौं, प्रमाणले त्यो कुरा पुष्टि गर्नेवाला छैन', उनले भने, 'मानिसको निजी जीवनसँग जोडिएका कुरा जथाभावी लेखिएको छ। मानिसको जीवनसँग जोडिएको कुरा लेख्नुअघि १० चोटी सोच्‍नुपर्थ्यो।'

उनले जाजरकोटका नवराज विककी प्रेमिका भनिएकी किशोरीबारेमा पत्रकारहरुले जथाभावी लेखिदिएको गुनासो गरे। 'सांसदहरुले पनि यस घटनामा चिन्ता गरेको देखिएको छ, त्यसले अनुसन्धानमा प्रभाव पर्दैन', उनले भने, 'जिल्लामा अनुसन्धानमा खटिएका अधिकृतहरुलाई कसैले फोन गर्छ भने त्यो टेलिफोन मेरोमा डाइभर्ट गरिदिनु भनेको छु। आजसम्मको अनुसन्धानबाट समाचारमा लेखे जस्ता कुरा भेटिएका छैनन्।'

उनले किशोरीको नामथर खुलाएर समाचार लेखिएकोमा पनि आपत्ति जनाए। 'ती किशोरीको उमेर १८ वर्ष पुगेको देखिएको छैन। प्रमाणले जे देखिन्छ त्यही हुन्छ। लेख्दा उमेर नपुगेको बालबालिकाकोबारेमा सचेत हुनुपर्छ', उनले भने, 'यति कुरा प्रषुट हो यो मुद्दा बिग्रिन दिइँदैन। ठूलो समुदायको चासो र सरोकार देखिएको छ। त्यसमा गम्भीरतापूर्वक अनुसन्धानमा लगिन्छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.