|

काठमाडौं : कोरोना महामारीपछि गरिएको लकडाउनका कारण वर्ल्ड भिजनले प्रदेश २ र ५ का ६ जिल्लामा हालै ७ सय ६१ सहभागीसँग गरेको एक मूल्यांकन (र्यापिड एसेसमेन्ट) अनुसार बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहार ८ प्रतिशतले वृद्धि भएको तथ्यांक देखाएको छ। 

लकडाउन अवधिभर ६० प्रतिशत परिवारले आफ्ना पाँच वर्षमुनिका बालबालिकाको दैनिक आहार जुटाउन समस्या भएको बताएको भिजनको तथ्यांकले देखाएको छ।  

यसै सन्दर्भमा गाउँपालिका राष्ट्रिय महासंघ र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा बालबालिका संरक्षण र सहभागिता विषयको अनलाइन छलफल कार्यक्रम भएको बताइएको छ। 

जेठ १४, १६ र १९ गते गरी विभिन्न तीन चरणमा सम्पन्न भएको कार्यक्रममा प्रदेश १, २, बागमती, गण्डकी र सुदूरपश्चिम गरी जम्मा २८ स्थानीय सरकारका प्रतिनिधि समावेश भएका थिए। कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुखकोे सहभागिता थियो।

बालश्रम, बालविवाह, लागुऔषध दुर्व्यसनी र बेचबिखन जोखिम बढ्न सक्ने भन्दै समयमै यसतर्फ सबैले जोड दिँदै स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिका लक्षित कार्यक्रम र बालसहभागिता नै छलफलको मुख्य विषय रहेको बताइएको छ। 

बन्दाबन्दीका बेला बालबालिकामा हुनसक्ने मानसिक तथा शारिरिक दुर्व्यवहारले बालबालिकामा पर्ने असरबारे पनि छलफल गरिएको थियो । साथै सडक बालबालिका, स्याहारकर्ता बिना हुर्किरहेका बालबालिका, बालगृहमा रहेका बालबालिकामा बन्दाबन्दीले परेको असर र चुनौतीबारे धारणा राख्दै वल्र्ड भिजनका बाल संरक्षण व्यवस्थापक दिलिप गिरीले स्थानीय तहबाटै बाल संरक्षण तथा न्यायिक पद्धतिलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.