|

तनहुँ : तनहुँको एक मात्र ठूलो अस्पतालमा अहिलेसम्म सघन उपचार कक्ष (आइसियु) छैन। सदरमुकाम दमौलीमा रहेको जिल्ला स्तरीय अस्पताल भए पनि आइसियु नहुँदा जटिल खालका बिरामीलाई पोखरा, चितवन, काठमाडौंमा लैजानुपर्ने बाध्यता छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै जिल्लाको अस्पतालमा आइसियु नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको छ। तनहुँमा गत सोमबार भारतबाट आएका एकजनामा कोरोना भाइरसको संक्रमण देखिए पनि अस्पतालमा आइसियु नहँुदा शुक्लागण्डकी नगरपालिकाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लग्नु परेको थियो।

अस्पतालमा भेन्टिलेटरसहितको आइसोलेसन कक्ष नहुँदा कोरोना संक्रमण भइहाले उपचारबिना नै ज्यान जाने हो कि भन्ने त्रासमा स्थानीय छन्। जिल्ला स्तरीय अस्पताललाई विकास गर्न तीनै तहका सरकारले पहल गरे छिटो हमइसियु निर्माण हुनुका साथै उपचार सहज हुने उनीहरु बताउँछन्।

अस्पतालको पुरानो भवनको प्रसूति कक्षलाई भेन्टिलेटरसहितको पाँच शय्याको आइसियु कक्षमा रुपान्तरण गर्न लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए। २०७२ सालमा निर्माण गरिएको नयाँ भवनबाट भइरहेकाले पुरानोलाई सघन कक्षमा रुपान्तरण गर्न लागिएको अस्पतालले जनाएको छ। अस्पतालले हाल पुरानो भवनबाट इमरजेन्सी सेवा सञ्चालन गरिरहेको छ।

कोरोना शङ्कास्पद बिरामीको उपचारका लागि व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनमा आइसोलेसन कक्ष बनाउने तयारी गरिएको भए पनि उक्त भवन दमौली अस्पतालको पहुँचभन्दा बाहिर भएकाले समयमा तयारी गर्न नसकिएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेलले बताए। दमौली अस्पतालमा नै सुविधा भएपछि धेरै रकम खर्चेर टाढा धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

केही समयअघि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले दमौली अस्पतालमा आइसियु कक्ष निर्माण गर्न लागि निरीक्षण गरेका थिए। भविष्यमा पनि यस्ता महामारी तथा प्रकोप आउन सक्ने हुँदा प्रदेश सरकारको मातहतमा रहेको सबै जिल्ला अस्पतालमा आइसियुसहितको अस्पताल बनाउने निर्णय गरिएको बताएका थिए। केही समयमा नै अस्पतालमा आइसियु निर्माण हुने र टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.